रवीन्द्र उप्रेती
बर्दिबास, पुस २९ गते । जङ्गली क्षेत्रमा काठ तस्करको चलखेल बढ्न सुरु भएपछि वनकर्मीले बर्दिबास नगरपालिकाका छुट्टाछुट्टै स्थानमा छापामारी ठूलो परिमाणमा चिरान काठ बरामद गरेका छन् ।
डिभिजन वन प्रमुख (डीएफओ) सन्तोष झाका अनुसार सशस्त्र वन रक्षकसहित वनकर्मीको टोलीले बर्दिबास–३, गौरीडाँडा तथा वडा नं. ५ माईस्थान नयाँ टोलबाट चिरान र फल्ली गरी २२१ थान साखु जातको काठ बरामद गरेको हो ।
सबैभन्दा बढी काठको नाम खुल्न नसकेको एक फर्निचर उद्योगबाट बरामद भएको वनकर्मीले जनाएका छन् । सुदूर उत्तरी भेगका वन क्षेत्रमा काठ तस्करको चलखेल बढेको छ । सुराकीको आधारमा गढन्ता, टुटेश्वर र बर्दिबास सब डिभिजन कार्यालयका वनकर्मी र माईस्थानस्थित सशस्त्र वन सुरक्षा शाखाबाट खटिएको टोलीले गौरीडाँडास्थित एक फर्निचरमा बिहीबार अपराह्नतिर छापा मारेको थियो ।
शङ्कास्पद क्षेत्रलाई नियन्त्रणमा लिएर खोजी गर्दा फर्निचर उद्योग फेला परेपछि वनकर्मी नै चकित भएका थिए । त्यसभित्र लुकाइ राखिएको अवस्थामा २१५ थान चिरान काठ बरामद भएको सशस्त्र वन सुरक्षा शाखा प्रमुख अवतार लामाले बताउनुभयो । फर्निचर उद्योगबाट वनकर्मीले एक थान काठ चिर्ने मेसिन पनि नियन्त्रणमा लिएको जनाएका छन् ।
बाहिरबाट सजिलै देख्न नसकिने घरको पछिल्लो आडमा सञ्चालित उक्त फर्निचर अवैध रहेको बुझिएको छ । बोर्डसमेत नटाँगिएको उक्त फर्निचरको वैधताबारे बुझ्ने काम भइरहेको डीएफओ झाले बताउनुभयो । वनकर्मी आएको आभास पाएर फर्निचर सञ्चालक घर छाडी भागेका थिए । फरार रहेका फर्निचर सञ्चालकबारे सघन रूपमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । “स्रोत र सुराकीको माध्यमले विवरण सङ्कलन गरी फर्निचर र त्यसका सञ्चालकको बारेमा बुझ्ने काम भइरहेको छ,” झाले भन्नुभयो ।
अघिल्लो दिन बर्दिबास–५, माईस्थानस्थित नयाँ टोलबाट समेत गस्तीमा रहेको वन कर्मचारीले तयारी अवस्थाका छ थान साखु जातका फल्ली नियन्त्रणमा लिएको छ । ती फल्लीका लागि तस्करले काँचो रुख कटान गरेको पाइएको छ । नम्बरी आवादी नजिक रहेको वन क्षेत्रमा तस्कर समूहले काँचा रुख ढाली चोरी निकासी गर्न लागेको सुराकीको आधारमा सशस्त्र वन रक्षकसहितको टोली बिहान आठ बजेतिर घटना स्थल पुगेको थियो । ढालेका रुखलाई ‘साइज’मा काटेर फल्ली बनाउँदै गरेको तस्कर समूहले वनकर्मीलाई टाढै देखी काठ छाडेर भागेका थिए ।
फर्निचर उद्योगबाट बरामद काठलाई माईस्थानस्थित सशस्त्र वन सुरक्षा शाखा र नयाँ टोलबाट नियन्त्रणमा लिएको काठ सब डिभिजन कार्यालय गढन्ताको जिम्मामा राखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।