• १२ असोज २०८१, शनिबार

सभामुखमा गौतम निर्विरोध निर्वाचित

blog

शशिधर पराजुली 

विराटनगर, पुस २९ गते ।  प्रदेश १ प्रदेश सभाको सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।  प्रदेश सभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको मात्रै उम्मेदवारी परेको थियो । बिहीबारको प्रदेश सभा बैठकमा सभामुखको भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । 

गौतमलाई एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक रहनुभएको थियो भने समर्थकमा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगु रहनुभएको थियो । ५० वर्षीय गौतम ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्थ्यो ।

संसद्मा दोस्रो ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा रहे पनि सभामुखमा उम्मेदवारी दिएको थिएन । यस्तै नेकपा (एकीकृत समाजवादी)ले पनि गौतमलाई समर्थन गरेको थियो । 

ओखलढुङ्गाको लिखु गाउँपालिका–९ स्थायी ठेगाना भएका गौतम २०४६ सालको पञ्चायतविरोधी आन्दोलनबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । 

बहुदलपछि सर्लाहीको महादेव जनता माविमा अखिलको एकाइ अध्यक्ष हुनुभएका उहाँले त्यहीबाट एसएलसी गर्नुभयो । २०७० सालदेखि उहाँ ओखलढुङ्गा जिल्लामा पार्टी अध्यक्ष भएर भूगोलमा काम गर्न थाल्नुभयो । २०७२ सालदेखि अहिलेसम्म उहाँ ओखलढुङ्गाको इन्चार्जको भूमिकामा रहनुभएको थियो भने हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

२०६४ साल र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बन्नुभएका उहाँ सांसद बन्न भने पाउनुभएको थिएन । यो पटकको निर्वाचनमा भने ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र २ बाट कांग्रेसको सहयोगमा निर्वाचित हुनुभएका गौतम पहिलो चरणमै प्रदेश सभाका नेतृत्व गर्ने ठाउँमा पुग्नुभएको हो । 

राजनीतिशास्त्रमा आइएसम्मको अध्ययन गर्नुभएका उहाँले प्रदेश १ लाई बलियो बनाउने गरी अगाडि बढ्ने बताउनुभयो । “प्रदेशलाई बलियो बनाउने गरी अगाडि बढ्छु । प्रदेशको नामकरणको विषयलाई टुङ्गो लगाउन प्रयास गर्छु,” उहाँले भन्नुभयो, “म मेरो ठाउँबाट यो पदलाई न्याय गर्छु । यो भूमिका लागि म योग्य छु ।”

नवनिर्वाचित सभामुख गौतमले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश १ का प्रदेशप्रमुख पर्शुराम खापुङले प्रदेशप्रमुखको कार्यालयमा शपथ खुवाउनुभएको हो । 

शपथग्रहण लगत्तै बिहीबार नै उहाँले प्रदेश सभाको तेस्रो बैठक सञ्चालन गर्नुभएको छ । बैठक सञ्चालनका क्रममा उहाँले प्रदेश सभाको सभामुख पदको गरिमालाई आँच आउन नदिने गरी काम गर्ने कुरामा सभालाई विश्वास दिलाउनुभयो । 

प्रदेश सभा बैठकमा सभामुख गौतमले उपसभामुखको निर्वाचन २०७९ पुस ३० गतेका लागि तोक्नुभएको छ ।