• १२ मंसिर २०८१, बुधबार

माघबाट सेवा शुल्क

blog

चरीकोट समाचारदाता

चरीकोट, पुस २९ गते ।  गत सात वर्षदेखि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको पशुपति चौलागाईं स्मृति अस्पतालले आगामी माघ महिनाबाट सेवा शुल्क लिने भएको छ । दोलखा सदरमुकाम चरीकोटमा रहेको अस्पतालले सूचना जारी गर्दै माघ १ गतेबाट शुल्क लिने जनाएको हो ।

अस्पताल सञ्चालन एवं व्यवस्थापन समितिको निर्णयअनुसार माघ १ गतेदेखि अस्पतालमा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी गराउँदै बीमा कार्यक्रममा सूचीकृत नभएका बिरामीको हकमा शुल्क लाग्ने सूचनामा उल्लेख छ । 

अस्पतालले सेवा शुल्क तय गरी सार्वजनिक गरेको छ । अस्पतालका प्रमुख डा. ज्ञानेश्वर श्रेष्ठले अस्पताललाई आर्थिक बोझ थपिँदै गएपछि निःशुल्क सेवा हटाएर सशुल्क बनाउन लागेको बताउनुभयो । 

अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न मासिक करिब १२ देखि १५ लाख रुपियाँ लाग्ने तर अस्पतालको आम्दानीको स्रोत खाजाघर र निजी फार्मेसीलाई दिएको घरभाडा मात्र रहेकोमा अब निजी फार्मेसी पनि हटाएर अस्पतालले नै फार्मेसी चलाउने डा. श्रेष्ठले बताउनुभयो । 

अस्पतालमा हाल ७२ जना कर्मचारी कार्यरत छन् । तीमध्ये प्रदेश सरकार, सङ्घीय सरकार र नगरपालिबाट स्थायी र करारलाई गरेर ३७ जनाको तलब पठाइरहेका छन् । बाँकी ३५ जनालाई आन्तरिक स्रोतबाटै तलब खुवाइरहेको अस्पतालले जनाएको छ ।   

यसअघि प्राथमिक स्वास्थ्य केन्द्र रहेकोमा न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थालाई निःशुल्क उपचारसहितको विशेषज्ञ सेवा उपलब्ध गराउने गरी २०७२ सालमा १० वर्षका लागि व्यवस्थापनको जिम्मा दिएको थियो । 

संस्थामा विदेशीअनुदान रोकिएको भन्दै गत वर्ष  कात्तिक १६ गते उक्त संस्थाले छाडेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चरीकोटसहित पाँचवटा अस्पताललाई प्रदेश सरकार मातहत राख्ने निर्णय गरेको थियो । गत वर्ष कात्तिकदेखि एक महिनाको अवधिमा पुरानै कर्मचारी करारमा राखेर भीमेश्वर नगरपालिकाले  अस्पताललाई नगर अस्पतालका रूपमा चलाएको थियो । त्यसपछि प्रदेश सरकार र अस्पतालका विभिन्न स्रोतबाट निःशुल्क सेवा सुचारु गरिँदै आएको थियो ।  

बागमती प्रदेश सरकारले गत वर्ष दोलखाबाट निर्वाचित प्रदेश सभा सदस्य स्वर्गीय पशुपति चौलागाईंको नाममा अस्पतालको नामकरण गरेको थियो । अस्पतालमा सर्जरी, ओपीडी शल्यक्रियाका सेवा उपलब्ध छन् । आईसीयू, भेन्टिलेटर, डायलासिस, पीआईसीयूलगायतका सेवा विस्तार गर्ने तयारी गरिरहेको अस्पतालले जनाएको छ ।