वसन्त पराजुली
भरतपुर, पुस २९ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विगतमा भएका भ्रष्टाचारसम्बन्धी घटनालाई छानबिन गरेर कानुनी दायरामा ल्याइने बताउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार चितवन आउनुभएका लामिछानेले भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गलत काम गर्नेले उन्मुक्ति नपाउने धारणा राख्नुभयो ।
“गल्ती गरे जाने जेल नै हो । भ्रष्टाचारको अनुसन्धान रोकिँदैन, आफ्नो प्रक्रियामा जान्छ,” पत्रकारहरूको जिज्ञासामा जवाफ दिँदै मन्त्री लामिछानेले भन्नुभयो, “राजनीति र अन्य कुरालाई एकै ठाउँमा ल्याएर जोड्न हुँदैन । भ्रष्टाचार भनेको भ्रष्टाचार नै हो, यसको अन्त्य हुन जरुरी छ ।”
उहाँले अपराध नियन्त्रणमा राजनीतिक पार्टीको प्रभाव पर्न नदिने धारणा पनि बताउनुभयो । “अपराध नियन्त्रणमा पनि अब जे हो त्यै हुन्छ । प्रहरीले वस्तुनिष्ठ अनुसन्धान गर्छ,” उहाँले भन्नुभयो । “अपराध अनुसन्धानमा कुनै पनि राजनीतिक दलको दबाबमा नपर्न प्रहरीलाई भनिसकेका छौँ । कुनै पनि राजनीतिक दलले अपराध अनुसन्धानमा अवरोध पु-याउने, मेरो मान्छे छोडिदेऊ भन्ने कुरा अब सुन्न पर्दैन,” उहाँको स्पष्ट भनाइ थियो, “यदि कसैले त्यस्तो भनेको प्रमाण ल्याउनुभयो भने भन्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याइनेछ ।”
आफू सभापति भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई त अझै निर्मम भएर कारबाही गर्न प्रहरीलाई भनेको पनि उहाँले स्पष्ट पार्नुभयो । “अपराधसँग सम्बन्धित छानबिनमा हाम्रो दलको मान्छे छ, हाम्रो दलको गृहमन्त्री छ भनेर कसैले प्रभावमा नलिनु होला । लिन खोज्नुभयो भने कडाइका साथ कारबाही गर्नूस् भनेर प्रमुख जिल्ला अधिकारीलाई भनिसकेको छु,” गृहमन्त्री लामिछानेले भन्नुभयो ।
उहाँले प्रहरीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो । “आदेश होइन कानुनको पालना गर्नुहोस् भनेर भनिसकेको छु,” उहाँले भन्नुभयो । प्रहरीको पिर्के सलामी खाएपछि विवादमा परेको प्रसङ्गमा मन्त्री लामिछानेले कुनै पनि संस्थाको प्रोटोकल भत्काउन आफूले नसक्ने बताउनुभयो ।
“संस्थाको आफ्नै प्रोटोकल हुन्छ, त्यो म भत्काउन सक्दिन । म व्यक्ति ठूलो होइन । आफ्नै प्रोटोकल नभत्काउनुस् । मैले भनेकै छु, मलाई केही चाहिँदैन । देखाउनका लागि होइन,” उहाँले भन्नुभयो । नेपाल प्रहरीको जिम्मेवारी आमनागरिकको सुरक्षा दिने भएको बताउँदै नागरिकको सुरक्षामा कुनै पनि कसर बाँकी नराख्न प्रहरीलाई उहाँले निर्देशन दिनुभयो ।
लामिछानेले नेपाली जनताको काम गरुञ्जेल आफूलाई कुनै असुरक्षा नहुने बताउनुहुँदै सरकारले दिने सुरक्षा पनि आफूले कटौती गरेको जानकारी दिनुभयो । आफू गृहमन्त्री भएपछि जनताका एकसे एक समस्या समाधान गरेको पनि उहाँले जनाउनुभयो । “एक–एक समस्या समाधान गरेका छौँ । म गृहमन्त्री भएयता समस्या लिएर गृह मन्त्रालय आउनुभएका दुई सयभन्दा बढीको समस्या दुई मिनेटभन्दा बढी समय नलगाई समाधान गरेको छु,” उहाँले भन्नुभयो ।
अहिले गृह मन्त्रालयले सिङ्गो देशले अनुभूति गर्ने गरी काम गरिरहेको दाबी पनि उहाँले गर्नुभयो । “कुनै पनि नागरिकलाई आपत् पर्दा समस्या समाधान गर्ने काम गरेको छु,” उहाँले भन्नुभयो ।