• १६ चैत २०८०, शुक्रबार

विश्वकप पछि मेस्सीको गोल

blog

एन्जर्सविरुद्ध गोल गरेपछि पीएसजीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, पुस २८ गते । कतार विश्वकप पछि लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि गोल गर्नुभएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोलले हरायो ।

घरेलु मैदानमा पीएसजीलाई सहज जित दिलाउन हुगो इकिटिके र मेस्सीले गोल गर्नुभयो । हुगोले पाँचौँ मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । त्यसपछि ७२औँ मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई सजिलै जिताउनुभयो ।

फिफा विश्वकपमा अर्जेन्टिनालाई जिताएपछि फ्रान्स पुग्नुभएका मेस्सीको क्लबका लागि गोल गर्नुभएको हो । विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको थियो । जितसँगै शीर्षस्थानमा यथावत् रहेको पीएसजीले १८ खेलबाट ४७ अङ्क बनाएको छ ।

पराजित एनजर्स आठ अङ्कसहित तालिकाको अन्तिममा छ । दोस्रो स्थानमा रहेको लेन्सको ४१ अङ्क छ । बुधबार राति नै भएको खेलमा लेन्सले स्टार्सबर्गसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी