• ११ मंसिर २०८१, मङ्गलबार

कम उमेरमै गर्भपतन जोखिममा स्वास्थ्य

blog

भैरहवा समाचारदाता

भैरहवा, पुस २८ गते । लुम्बिनी प्रदेशमा गर्भपतन सेवा लिने २० वर्षमुनिका महिला झन्डै १० प्रतिशत रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार, बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनि रहेकाको सङ्ख्या बढ्दै गएको देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा लुम्बिनी प्रदेशभित्र २० वर्षमुनिका महिलाले सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या नौ दशमलव छ प्रतिशत देखिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको उक्त तथ्याङ्कले आर्थिक वर्ष २०७४/७५ मा छ दशमलव दुई प्रतिशत रहेकोमा पाँच वर्षमा यो सङ्ख्या बढेर नौ दशमलव छ प्रतिशतमा पुगेको देखाएको छ ।

सूचीकृत स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउनेको सङ्ख्या बढेसँगै असुरक्षित रूपमा पनि गर्भपतन गराउने महिला उत्तिकै रहेको आँकलन गरिएको छ । विवाहपूर्व शारीरिक सम्बन्धका कारण पनि २० वर्ष नपुग्दै गर्भपतन गराउन खोज्ने बढेकोे हो । 

“विवाह नगरी गर्भपतन गराउने, २० वर्ष नपुगेका महिला पनि गर्भपतन गराउन पुग्नेको सङ्ख्या बढ्दो छ,” राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक श्याम लम्सालले भन्नुभयो, “गर्भपतनका कारण पाठेघरमा प्वाल पर्ने, पुनः गर्भधारण हुन नसक्ने अवस्था आउन सक्ने समस्या हुन्छ । असुरक्षित गर्भपतन गराउँदा महिलाको मृत्युसमेत हुन सक्छ ।” 

लुम्बिनी प्रदेशभित्रका १२ जिल्लामा सुरक्षित गर्भपतन गराउन १७४ स्वास्थ्य संस्था सूचीकृत छन् । सरकारी अस्पतालदेखि स्वास्थ्य चौकी र गैरसरकारी संस्थाले सञ्चालन गरेका परिवार नियोजन कार्यक्रममार्फत सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । तर अझै पनि सामाजिक पछौटेपनका कारण सुरक्षित गर्भपतन सेवा लिने ठाउँमा नपुगी असुरक्षित गर्भपतन गराउनेको समस्या बढ्दो छ । यसरी असुरक्षित गर्भपतन गराउँदा महिलाको ज्यान जानेसम्मका जोखिम रहेकाले स्वास्थ्य मन्त्रालयले सचेतना अभिवृद्धिका कार्यक्रमसमेत गर्दै आएको जनस्वास्थ्य अधिकृत अर्जुन ढकालले बताउनुभयो ।

लिङ्ग पहिचान गरेर गर्भपतन गराउने कार्य कानुनले वर्जित गरेको छ । तर पनि छोराको नाममा गर्भपतन गराउन असुरक्षित स्थान तथा सूचीकृत नभएका स्वास्थ्य संस्थामा पुग्ने गरेको देखिन्छ । महिलाको इच्छाविपरीत करकाप, जबरजस्ती गर्भपतन गराउने कानुनले वर्जित गरेको छ ।

मुलुकी अपराधसंहितामा लिङ्ग पहिचान गरेर गर्भपतन गर्न नपाइने, गरेको पाइए कैद एवं जरिवानासम्मको सजाय तोकिएको छ । बजारमा खुलेका औषधि पसलमा सूचीकृत र सिफारिस भएकाभन्दा बाहिरका औषधिसमेत बिक्री वितरण हुने गरेको छ ।

जसले गर्दा असुरक्षित गर्भपतन बढेको स्वास्थ्यकर्मी बताउँछन् । बजारमा छ प्रकारका औषधि बिक्री वितरणका लागि अनुमति छ । तर खुला सिमानाका कारण अन्य औषधि सहजै भित्रिने गरेकाले असुरक्षित गर्भपतनको जोखिम झनै बढेको भनाइ लम्सालको छ । 

नेपालमा बर्सेनि करिब १२ लाख महिला गर्भवती हुने, पाँच लाख ३९ हजार अनिच्छित गर्भ रहने, एक चौथाइ अनियोजित जन्म हुने, दुईतिहाइ गर्भपतन हुने र बाँकी ६१ हजार आफैँ खेर जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।