गुल्मी समाचारदाता
गुल्मी, पुस २८ गते । गुल्मीको एक स्थानीय तहमा १५ श-याको अस्पताल भवन निर्माण तीव्र रूपमा अगाडि बढेको छ । गुल्मी दरबार गाउँपालिका–३, धुरेलडाँडामा निर्माणाधीन १५ श-याको अस्पताल भवन निर्माण ८५ प्रतिशतभन्दा बढी सकिएको छ ।
सङ्घीय सरकारले एकै पटक देशका ३९६ स्थानीय तहमा ५, १० र १५ श-यासम्मका अस्पताल बनाउने नीति लिएको थियो । सोहीअनुसार यस जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो ।
यहाँ निर्माणाधीन अस्पताल भवनको अहिले ८५ प्रतिशतभन्दा बढी निर्माण सकिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । सुखी र समृद्ध गाउँपालिका निर्माण गर्ने अभियानअन्तर्गत पालिकाले सम्पूर्ण नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुरूप १५ श-याको अस्पताल भवन निर्माण गरेको हो ।
२०८० असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण व्यवसायीसँग सम्झौता गरिएकोमा अगावै निर्माण सम्पन्न हुने भएको छ । २०७७ असार १५ गते गुल्मी दरबार गाउँपालिका–३ मा १५ श-या अस्पतालको शिलान्यास गरिएको थियो ।
तत्कालीन गाउँपालिका अध्यक्ष अशोककुमार थापा र लुम्बिनी प्रदेशका पूर्वसांसद कमलराज श्रेष्ठले उक्त अस्पताल भवन शिलान्यास गर्नुभएको थियो । भवन निर्माण न्यु लिजा कन्स्ट्रक्सन कम्पनीसँग २०७८ वैशाख २५ गते १२ करोड ९४ लाख ५६ हजार ९१३ मा सम्झौता गरिएको थियो ।
अस्पताल भवनको साढे तीन तला ढलानसहित प्लास्टर सकिएको छ । अहिले लिफ्ट र फिनिसिङ भइरहेको छ । वित्तीय प्रगति पनि ६० प्रतिशतभन्दा धेरै भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
गुणस्तरीय भवन निर्माणका लागि निरन्तर अनुगमन जारी रहेको बताइएको छ । यस अस्पतालमा एक जना मेडिकल सुपरिटेन्डेन्टसहित मेडिकल अफिसर दुई जना र स्वास्थ्यकर्मीसहित ३० जना कर्मचारीले सेवा प्रवाह गर्नेछन् ।