ललित बसेल
सुर्खेत, पुस २८ गते । नेपालमा मानव बेचबिखनका घटनाको तुलनामा कानुनी प्रक्रियामा जानेको सङ्ख्या निकै कम रहेको पाइएको छ । गत आर्थिक वर्षमा नेपालभर ४० हजार तीन सय मानव बेचबिखनका घटना भएकामा कानुनी प्रक्रियामा जाँदा १३४ वटा मात्रै मुद्दा प्रक्रियामा गएको पाइएको हो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कमा मानव बेचबिखनका घटना गत आर्थिक वर्षमा ४० हजार तीन सयवटा भएको उल्लेख छ । तीमध्ये १३४ वटा मात्र मुद्दा दर्तामा गएका छन् ।
सुर्खेतमा बुधबार आयोजित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतले घटनाको तुलनामा मुद्दा दर्ता असाध्यै कम भएको बताउनुभयो । उहाँले मानव बेचबिखनका घटना डरलाग्दो भएको उल्लेख गर्दै न्याय पाउन गरिने प्रक्रिया निकै कम भएको जनाउनुभयो ।
प्रहरीमा मानव बेचबिखनमा पीडितको सङ्ख्या १८७ जना मात्र छ । तीमध्ये महिलाको सङ्ख्या १८३ जना छ भने पुरुष चार जना छन् । यस्तै पीडित बालबालिकाको सङ्ख्या ८० रहेकामा बालिकाको सङ्ख्या ७९ र बालकको सङ्ख्या एउटा मात्र रहेको सहसचिव बस्नेतले बताउनुभयो । मानव बेचबिखनमा महिला तथा बालिका नै बढी पीडित भएको उहाँको भनाइ छ ।
गरिबी, अशिक्षा, प्रलोभन, कानुनको प्रभावकारी पालना हुन नसक्नु, बेरोजगारीका कारण मानव बेचबिखनको घटना बढ्दै गएको पाइएको छ । खुला सिमानाका कारण पनि यो सङ्ख्या बढ्दै गएकाले प्रदेश तथा स्थानीय सरकारहरूले आआफ्ना सीमामा निगरानी बढाउनुपर्ने सुझाव उहाँले दिनुभयो । विगतको तुलनामा मानव बेचबिखनका घटनाको स्वरूप परिवर्तन भएको उहाँले बताउनुभयो । अहिले वैदेशिक रोजगारीका नाममा शिक्षित, सम्भ्रान्त वर्गका महिला तथा किशोरीहरू पनि मानव बेचबिखनमा परेको पाइएको उहाँको भनाइ छ ।
चालू आर्थिक वर्षमा मन्त्रालयले दुई हजार ४४७ जनालाई उद्धार गरेको जानकारी दिँदै देशभर १० वटा पुनस्र्थापना केन्द्र सञ्चालन भइरहेको सहसचिव बस्नेतले बताउनुभयो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सामाजिक विकास अधिकृत अनिता ज्ञवालीले कर्णालीमा अभिभावकविहीन बालबालिकाको सङ्ख्या बढ्दै जाने समस्या रहेको बताउनुभयो । यो समस्या धेरैजसो हुम्ला, मुगु, डोल्पाजस्ता हिमाली जिल्लामा रहेको छ । महिला, बालबालिका तथा किशोरीलाई सबल गराउन प्रदेश सरकारले ‘बैङ्क खाता छोरीको सुरक्षा जीवनभरिको’ भन्दै छोरीको नाममा बैङ्क खाता खोल्ने, छोरी बुहारी छात्रवृत्तिलगायत रोजगार तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी उहाँले दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बनेका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मानव बेचबिखनका घटनामा कमी आउन नसकेको बताउनुभयो । उहाँले यस्ता अपराधका घटनामा कमी ल्याउन सबै पक्षको सामूहिक गृहकार्य र निगरानी आवश्यक रहेको जनाउनुभयो । कार्यक्रमका सहभागीले मानव बेचबिखनको समस्या भित्रभित्रै गाँजिएको बताउँदै यसको न्यूनीकरणका लागि साझा सङ्कल्प आवश्यक रहेको सुझाव दिएका थिए ।