पोखरा समाचारदाता
पोखरा, पुस २७ गते। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका खगराज अधिकारीले पुस २९ गते शुक्रबार विश्वासका मत लिनुहुने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले २९ गते विश्वासको मत लिने निर्णय गरेको बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिनुभयो ।
सरकारले सकेसम्म छिट्टै नै विश्वासको मत लिई मन्त्रिपरिषद् विस्तार गरेर जनताको काम गर्न सुरु गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री चुमानले बताउनुभयो । मुख्यमन्त्री अधिकारीले सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष ३३ जना प्रदेश सभा सदस्यहरूको समर्थन लिएर दाबी पेस गर्नुभएको हो ।
नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का आठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३३ सदस्यको समर्थन पाउने अधिकारीको विश्वास छ । गण्डकीमा पहिलो भएको नेपाली कांग्रेसका २७ सिट छन् । अधिकारीले विश्वासको मत पाउन ३१ मत पाउनुपर्छ ।