• १३ असोज २०८१, आइतबार

वर्तमान सरकारको स्थिरता चुनौतीको विषय: महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापा फाइल तस्बिर

काठमाडौं, पुस २५ गते । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतीको विषय भएको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सरकारको स्थिरता चुनौतीको विषय भएको बताउनुभएको हो ।

उहाँले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशङ्का व्यक्त गर्नुभयो ।

निर्वाचन अगाडी एउटा गठबन्धन र निर्वाचन पछि अर्को गठबन्धनको स्वरूप भएकाले पनि सरकारको स्थिरतामा चुनौती भएको उहाँको भनाइ छ । महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बदलिने कुरालाई सामान्य रूपमा लिनुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो निर्वाचन प्रणालीबाट जस्तो खालको संसद् बन्यो । योभन्दा अघिल्लो पटक पनि हामीले निर्वाचनभन्दा अगाडी गठबन्धन गरेर गइसकेपछि सांसदभित्रको त्यो गठबन्धनलाई उहाँहरूले जोगाउन नसकेको कुराको साक्षी बसेर आएको हो । अहिले त झन् निर्वाचनभन्दा अगाडी एउटा गठबन्धन, निर्वाचन लगत्तैपछि अर्को गठबन्धन बनेर यो संसद्को यात्रा प्रारम्भ भएको छ ।”

“सरकारमा बसिरहेको दलहरू एक ठाउँ टिकीराखेर बस्ने कुरा नै, सरकारको स्थिरताको कुरा नै एकदमै धेरै ठूलो चुनौतीको रूपमा लिएको छु । तर यो निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछाडि सरकारहरू यसरी बन्छन् । बदलिन्छन् भन्ने कुरालाई सामान्य रूपमा स्वीकार गर्नुपर्‍यो”, उहाँले भन्नुभयो ।