काठमाडौं, पुस २५ गते । पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गर्नुभएको छ । कपडा व्यवसायी एसोसिएसन कास्कीले शनिबार आफ्नो रजत वर्षका अवसरमा पत्रकार थापालाई व्यवसायीक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।
पत्रकार थापाले आइतबार आश्रम मै पुगेर आफूले प्राप्त गरेको पुरस्कार ११ हजार एक सय १० रुपियाँ आश्रमकी कास्की जिल्ला सहसंयोजक सम्झना बर्तौलालाई हस्तान्तरण गर्नुभएको हो । मानवसेवाको उत्कृष्ट कर्म गरिरहेको आश्रममा आश्रित सहयोगापेक्षी जीवनहरूको सहयोगार्थ आफूले प्राप्त गरेको पुरस्कार अर्पण गरेको पत्रकार थापाले बताउनुभयो ।
‘‘जीवन महत्त्वपूर्ण छ, त्यसमाथि मानव जीवन यो केवल आफ्ना लागि मात्र होइन रहेछ, पत्रकार थापाले भन्नुभयो, जीवन अरू कसैको दुख र अभावमा बाँडेर जिउनुको आनन्द बेग्लै हुँदो रहेछ । आज मानव सेवा आश्रमले थालेको मानवता प्रवर्द्धनको अभियानमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ।’’ मानवमा मानवताको मानवीय भावना स्खलित हुँदै गएको परिस्थितिमा यो पवित्र कर्म गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको थापाले बताउनुभयो ।
सो अवसरमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सीनाले सामाजिक सेवाको कुनै मूल्य र सीमा नहुने भन्दै पत्रकार थापाले गरेको कार्य अनुकरणीय भएको बताउनुभयो । कपडा व्यवसायी एसोसिएसन कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले यो आफ्ना लागि निकै ठुलो आश्चर्यको विषय भएको बताउनुभयो ।
पत्रकारिताको क्षेत्रमा प्राप्त गरेको कुनै पनि पुरस्कार यसरी सेवामा समर्पित गरेको आफूले अहिलेसम्म थाहा नपाएको बताउँदै उहाँले असल कर्मका कमलजीवीलाई व्यवसायीक पत्रकारिता पुरस्कारले पुरस्कृत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । पत्रकार थापाले यसअघि प्राप्त गरेको जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार पनि अर्नाकोट छात्रवृत्ति प्रतिष्ठानलाई प्रदान गर्नुभएको थियो ।