• १३ असोज २०८१, आइतबार

सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

blog

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, पुस २५ गते । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयका आज (सोमबार) बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको छ । सरकारले मङ्गलबार विश्वासको मत लिँदैछ । सरकार गठनको क्रममा कुल एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

माओवादी केन्द्रको संसदीय दलको आजको बैठकमा राष्ट्रियसभातर्फका दलका नेता एवम् उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सांसदहरुले निर्वाह गर्नुपर्ने समग्र भूमिकामा बारेमा दिशानिर्देश गर्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा दलका नेता एवम् प्रधानमन्त्री प्रचण्डले सबै सांसदलाई व्यक्तिगत रुपमा पनि सरकारको पक्षमा विश्वासको मत दिने वातावरण बनाउन र अन्य दलका सांसदसँग पनि छलफल गर्न आग्रह गर्नुभएको पाण्डेले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार गठनको क्रममा समर्थन गर्ने दल र सांसदका अलावा नेपाली कांग्रेसलगायतका अन्य दल तथा सांसदहरुसँग पनि छलफल भएको जानकारी गराउनुभएको थियो ।

बैठकमा प्रतिनिधिसभाको बैठकमा सांसदहरुले निर्वाह गर्ने भूमिकालाई रचनात्मक र जनपक्षीय बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।