• १४ मंसिर २०८१, शुक्रबार

बैङ्क बलियो भएमात्रै अर्थतन्त्र सबल हुन्छ : अध्यक्ष गोल्छा

blog

ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा हुनुहुदै बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रतिनिधिहरु ।

काठमाडौं, पुस २५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा भएको ग्लोबल आईएमई बैङ्क र बैङ्क काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘बैङ्क बलियो भएपछि अर्थतन्त्र सबलता आउँछ, स्थिरता आउँछ, बैङ्क बलियो हुनु अर्थतन्त्रका लागि मेरुदण्ड हो । बैङ्कले नाफा गर्नैपर्छ । बैङ्कले नाफा गरेपछि मात्रै लगानी बढ्छ र अर्थतन्त्र सबल हुन्छ । बैङ्क बलियो भएपछि मात्रै अर्थतन्त्र सबल हुनेछ । आर्थिक परिदृश्य चुनौतीपूर्ण समयमा छौँ राजश्व घटेको छ, रोजगारी गुमाएका छन्, मुद्रास्फीति ८ देखि ९ प्रतिशतसम्म पुगेको छ ।’’

अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्नुहुँदै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको औँल्याउनुभयो । उहाँले तरलताको अभावमा व्यापारहरू सङ्कुचनमा गएकाले निजी क्षेत्रको मनोबलमा कमी आएको पनि बताउनुभयो ।

वर्तमान अवस्थामा केही सुधारको अवस्था देखिएको बताउनुहुँदै अध्यक्ष गोल्छाले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको बताउनुभयो । मौद्रिक नीतिमा क्यालकुलेटर रिस्क लिनुपर्ने अहिलेको आवश्यकता भएको रहेको उहाँको भनाइ छ । उहाँले सेफ्टी हेरेर मात्रै अघि बढ्ने हो भने समृद्धिको अपेक्षा पूरा गर्न नसकिने बताउनुभयो । अध्यक्ष गोल्छाले बैङ्क बलियो भएमात्रै अर्थतन्त्र सबल हुने बताउनुभयो ।

‘‘तरलताको अभावमा व्यापारहरू सङ्कुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको छ । केही सुधारका सङ्केत देखिएका छन्, तरलतामा सुधार भएको छ, रेमिट्यान्स बढेको छ । व्यापार व्यवसाय सुधार भएको देखिएको छ । सरकारी खर्च बढ्नुपर्छ, सरकारले जबसम्म विकास खर्च बढाउँदैन अर्थतन्त्र चलायमान हुँदैन ।,’’ उहाँले भन्नुभयो, ‘‘मौद्रिक नीतिमा क्यालकुलेटर रेस्क लिनैपर्छ । सेफ्टी हेरेर अघि बढ्ने हो भने हामी लक्ष्यअनुसार पुग्दैन । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाईकन समृद्धि पाउन सकिँदैन । कसरी लगानी प्रेरित गर्ने, कसरी उकास्ने निजी क्षेत्रलाई भन्नेकुरामा सोच्नुपर्छ ।’’

अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाएसम्म देशमा समृद्धि सम्भव नरहेको बताउनु भयो ।