• १२ मंसिर २०८१, बुधबार

बागमतीमा माओवादीका जम्कट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

blog

नेकपा माओवादी केन्द्रका बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जम्कट्टेल । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, पुस २५ गते । निर्वाचन आयोगले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रदेश सभा सदस्य निर्वाचनको बागमती प्रदेशको प्रतिवेदन बुझाएको २४ औँ दिनमा बागमती प्रदेशले मुख्यमन्त्री पाउने भएको छ । 

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सोमबार आज दिउँसो बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष बहुमत प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेस गर्ने हुनुभएको छ । केन्द्रमा गठबन्धन गरेका सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताहरुको बैठकमा बागमती प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । 

बागमती प्रदेशमा माओवादी केन्द्रले पहिलो कार्यकाल सरकारको नेतृत्व गर्ने सहमतिअनुसार सरकारको नेतृत्व गर्दै दाबी पेश गर्ने भएको हो । ११० प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा सरकार गठनका लागि बहुमत पुग्न ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ । तर प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातै दलको स्पष्ट बहुमत नभएकोले दुई वा दुईभन्दा बढीको समर्थनमा सरकार बनाउनुपर्ने बाध्यता छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिनुभएको छ । उक्त समय सीमाभित्रै केन्द्रमा भएको सहमति अनुसार दलहरुको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गर्ने माओवादी केन्द्रका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिनुभयो । प्रदेश सभा निर्वाचन घोषणा भएको मितिले ३० दिनभित्र सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) मा अनुसार पाँच दिनकाे समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न गत बिहीबार आह्वान गर्नुभएको थियो । 

प्रदेशमा दाबी पेश गर्न दिएको समय सीमाको अघिल्लो दिन केन्द्रमा सत्ता गठबन्धनबीच भएको सहमति अनुसार बागमती प्रदेशमा मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता जम्मकट्टेल मुख्यमन्त्री बन्नुहुनेछ । माओवादी केन्द्रका नेता एवं प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले मुख्यमन्त्रीमा दाबीका लागि प्रदेश सभा सदस्यहरुको हस्ताक्षर भइरहेको र दाबी गर्नु पूर्व बैठक बसेर जाने बताउँदै दिउँसो १ बजे दाबी पेस गर्न जाने तयारीमा रहेको बताउनुभयो । एमाले, माओवादी केन्द्र र राप्रपासहितको ६१ जना प्रदेश सभा सदस्य छन् । 

विद्यार्थी राजनीतिबाट राजनीति सुरु गर्नुभएका जम्कट्टेल पछि मजदुर राजनीतिमा लाग्दै २०६३ सालमा पुनः स्थापित संसद्को सांसद बन्नुभएको थियो । २०६४ को संविधान सभा निर्वाचनमा धादिङबाट एमालेका राजेन्द्रप्रसाद पाण्डेलाई पराजित गर्नुभएका जम्कट्टेल २०७० को संविधान सभा निर्वाचनमा पाण्डेबाटै पराजित हुनुभएको थियो । २०७४ को प्रदेश सभा सदस्यमा धादिङबाट निर्वाचित जम्कट्टेल प्रदेश सभाको पहिलो पाँचवर्षे कार्यकालमा प्रदेशमा सबैभन्दा बढी मन्त्री बन्नेमा पर्नुहुन्छ । माओवादी केन्द्रको धादिङ जिल्लाका इञ्चार्जसमेत रहनुभएका जम्कट्टेल गत मङ्सिर ४ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा धादिङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । यस प्रदेशमा प्रदेश सभामुखमा राप्रपा र उपसभामुख एमालेलाई दिने केन्द्रमा सत्ता गठबन्धनबीच सहमति भएको छ ।