लक्ष्मण पौडेल
भैरहवा, पुस २४ गते । भैरहवा भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नाकाको रूपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजस्व सङ्कलन लक्ष्यअनुरूप गर्न नसकेर घाटामा गएको छ ।
मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाट नै राजस्व सङ्कलन घटेसँगै सीमा सुरक्षा र अवैध चोरीनिकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमाबिन्दुमै सक्रियता बढाएको हो ।
सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटरको नेतृत्वमा समग्र रुपन्देहीको सीमा सुरक्षा व्यवस्था भइरहेको छ । सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठका अनुसार सीमामा चोरी निकासी रोक्न थप जनशक्ति परिचालन गरी आकस्मिक र आवश्यकताअनुसार ठाउँ–ठाउँमा चेकजाँच बढाइएको छ । राजस्व वृद्धिका लागि सशस्त्र प्रहरीले काम गरिरहेको उहाँले बताउनुभयो ।
एसपी श्रेष्ठका अनुसार नियमितका साथै आकस्मिक चेकिङ पनि भइरहेको छ । श्रेष्ठले भन्नुभयो, “सीमा क्षेत्रमा लाग्दैआएको फरेनिया बजारमा जान नेपालीलाई रोक लगाउँदै आएका छौँ, कोभिडको नयाँ भेरियन्ट पनि देखिएकाले थप सजगता, सुरक्षा चुनौती र जोखिमलाई दृष्टिगत गर्दै नेपालीलाई सचेत पनि गराइरहेका छौँ ।”
एक वर्षदेखि भैरहवा भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर २०७८ सम्म लक्ष्यअनुरूप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नभएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को पहिलो महिना लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजस्व सङ्कलन भए पनि भदौमा ६७, असोजमा ४१, कात्तिकमा ४० र मङ्सिरमा ३९ प्रतिशतमा सीमित छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षकको कमाण्डमा ७८ वटा प्रहरी युनिट, अस्थायी चेक पोस्ट र मोबाइल टोली र सादा पोसाकका प्रहरी पनि यसमा खटिएका छन् । स्थलमार्ग भई सबैभन्दा बढी पर्यटक आउने बेलहिया सीमादेखि केही दूरीमै रहेको डण्डा बीओपीको चेकिङ प्वाइन्ट सीमाक्षेत्रमा अधिकतम प्रयोग भएको छ । पर्यटक, सर्वसाधरणलाई चेकिङको नाममा धेरै सास्ती भएको भन्ने गुनासो आएकाले सोलाई दृष्टिगत गर्दै सीमाबिन्दुमै चेकजाँचमा कडाइ गरिएको छ ।
बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काकै कमाण्डमा सीमा चेकजाँचमा कडाइ गरिएको छ । सीमामै चेकिङ बढाए अवैध वस्तुहरू वैध तरिकाले भित्रिने र राजस्व सङ्कलनमा पनि वृद्धि हुने अपेक्षाका साथ चेकजाँच सीमाकेन्द्रित गरेको सशस्त्र प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चालु आर्थिक वर्षमा मात्रै दुई करोडभन्दा बढीको किराना, विद्युतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपायालगायत चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाइएको छ ।
सशस्त्र प्रहरीका अनुसार चालु आर्थिक वर्षमा तीन करोडभन्दा बढीको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस् तथा हार्डवेयर, किरानालगायतका चोरी तस्करीका सामान नियन्त्रणमा लिएको छ । पुसमा मात्रै ६५ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिई भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश पोखरेलले जानकारी दिनुभयो ।