दोलखा समाचारदाता
दोलखा, पुस २४ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–७ मा छम्बा र यार्जाङ गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ ।
गत २०७६ को बुद्ध जयन्तीको अवसरमा निर्माण सुरु गरिएको यार्जाङ गुम्बा दुई रोपनी जग्गामा निर्माण भएको हो । यार्जाङ गुम्बा निर्माणका लागि करिब एक करोड ५० लाख रुपियाँको लागतमा र सात रोपनी जग्गामा छम्बा गुम्बा तीन करोड ५० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको प्रमुख लामा तथा खेन्पो पेमछि शेर्पाले जानकारी दिनुभयो ।
गत २०७२ भूकम्पले भत्केको छम्बा गुम्बाको पुनर्निर्माण र यार्जाङ गुम्बा नयाँ निर्माण भएको हो । यी निर्मित गुम्बा पर्यटकीय गन्तव्य बन्ने अपेक्षा राखिएको जानकारी दिँदै उहाँले यहाँ विद्यालयको पठनपाठन गरिनुका साथै धार्मिक गतिबिधि बढाउने सोच रहेको बताउनुभयो ।
आगामी माघ २७ गते महेश्वर गुम्बाका प्रमुख छ्योक्टुल ग्याङखाङ रिम्पोर्छेबाट धार्मिक पूजापाठसहित छम्बा गुम्बा र माघ २८ गते यार्जाङ गुम्बा उद्घाटन गर्ने गुम्बा समितिले जनाएको छ ।
गुम्बा निर्माणमा गौरीशङ्कर गाउँपालिकाले पाँच लाख रुपियाँ सहयोग गरेको छ । पूर्ववडाध्यक्ष आङ दोर्जे शेर्पाको कार्यकालमा गुम्बा निर्माणका लागि १५ लाख बजेट व्यवस्था गरिएको थियो ।
बागमती प्रदेश सरकारबाट छम्बा गुम्बालाई ३० लाख र यार्जाङ गुम्बाका लागि १८ लाख रुपियाँ सहयोग प्राप्त भएको बताइएको छ । गुम्बा निर्माणको पहिलो दाता पूर्ववडाध्यक्ष आङ दोर्जे शेर्पाले प्रतिगुम्बा एक लाख ५१ हजारका दरले तीन लाख दुई हजार रुपियाँ चन्दा सहयोग गर्नुभएपछि मात्रै गुम्बा निर्माणका लागि हातेमालो अभियान सुरु भएको हो ।
यस्तै प्रवासमा रहेर प्रमुख लामा खेन्पोसँग नजिक भएका कारण भुटानी नागरिकबाट गुम्बा निर्माणमा सहयोग गरिएको जानकारी दिइएको छ । त्यसैगरी अमेरिका बसोबास गर्दै आउनुभएका भीम गुरुङ र युनाइटेड मङ्क एसोसिएन अफ अमेरिकाको (लामाको संस्था) विशेष सहयोग रहेको छ ।