• १० मंसिर २०८१, सोमबार

विद्यार्थीलाई युट्युबबाट पढाइ

blog

कमलामाई नगरपालिकाको शिक्षा शाखामा स्थापना गरिएको युट्युब स्टुडियो । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, पुस २४ गते । सिन्धुलीको कमलामाई नगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन युट्युबबाट पढाइ सञ्चालनको तयारी गरेको छ ।

दक्षिण कोरियाको छिन्चु विश्वविद्यालयले आवश्यक उपकरण सहयोग गरेपछि शिक्षकलाई तालिम दिएर पहिलो चरणमा सदरमुकाम सिन्धुलीमाढीस्थित कमला मावि, सिद्धबाबा मावि र गौमती माविमा युट्युबबाट पठनपाठनको तयारी सुरु गरिएको हो । 

ती विद्यालयका नौ जना शिक्षकलाई युट्युबबाट पढाइ सुरु गर्न नौ दिनको तालिम दिइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेलका अनुसार त्यसका लागि नगरको शिक्षा शाखामा अत्याधुनिक स्टुडियो स्थापना गरिएको छ । तालिम प्राप्त शिक्षकले विज्ञान, गणित र अङ्ग्रेजी विषयको पढाइलाई स्टुडियोमा रेकर्ड गरेपछि विद्यार्थीले विद्यालय तथा घरमै बसेर युट्युबको माध्यमबाट अध्ययन गर्न सक्नेछन् ।

छिन्चु विश्वविद्यालयका प्राडा योङ कि होङको नेतृत्वको टोलीले स्टुडियो स्थापनाका लागि ३६ लाख रुपियाँ बराबरको भिडिओ रेकर्डर, लाइट सिस्टम, ल्यापटप, दृश्यसम्पादन, सफ्टवेयर, स्टोरेज मेमोरीलगायतका सामग्री उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

दक्षिण कोरियाको शिक्षण सिकाइ विधिलाई कमलामाईका विद्यालयमा भित्र्याउने र यहाँको उत्कृष्ट सिकाइलाई दक्षिण कोरियामा पु¥याउने उद्देश्यले दक्षिण कोरियाको एनएस डेबिलका समूहका १४ जना विद्यार्थी शिक्षण सिकाइका लागि कमलामाई नगरपालिकामा आएको पनि नगरप्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

युट्युब स्टुडियोको स्थापनासँगै शिक्षकहरूले आफ्नो विषयगत पाठ्यक्रमको शैक्षिक सामग्रीको भिडियो निर्माण गरी युट्युबमार्फत प्रकाशन प्रसारण गर्दा विद्यार्थीहरूको भर्चुअल शिक्षण सिकाइमा समेत थप टेवा मिल्ने नगरपालिकाले जनाएको छ । सामुदायिक मात्र नभएर निजी विद्यालयलाई समेत प्रविधिमैत्री शिक्षण सिकाइमा समावेश गरिने नगरपालिकाको योजना रहेको छ । कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक विद्यालय रहेका छन् । युट्युबबाट क्रमशः अरू विद्यालयमा पनि अध्यापन गरिने भएको छ । छिन्चु विश्वविद्यालयका प्राध्यापकहरूले नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरेका नगर शिक्षा शाखाले जनाएको छ ।