• १२ मंसिर २०८१, बुधबार

काठमाडौं महानगर १० को सार्वजनिक सुनुवाइ सम्पन्न

हरेक नागरिकका कुरा सुनेर काम गछौँ : वडाध्यक्ष केसी

blog

काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसी । फाइल तस्बिर

काठमाडौं, पुस २३ गते । काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले वडाका हरेक नागरिकको कुरा सुनेर काम गर्ने बताउनुभएको छ । शनिबार काठमाडौं महानगर १० ले सार्वजनिक सुनुवाइ क्रममा आफ्नो भनाइ राख्नुहुँदै वडाध्यक्ष केसीले सो कुरा बताउनुभएको हो ।

महानगरको सामाजिक समितिका संयोजक समेत रहनुभएका केसीले वडाका हरेका व्यक्तिको गुनासो सुन्न सक्ने प्रणाली विकासमा प्रयास भइरहेको बताउनुभयो । ‘‘कुन समस्याको समाधान हुन सक्ने हो, समन्वय गराउने काम गर्छौँ ।’’ वडाध्यक्ष केसीले भन्नुभयो, ‘‘स्वयंसेविकाले महामारी जस्तो जटिल समयमा योगदान दिएका छन् । यस्तै, विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको छ । यी योगदानलाई संस्थागत गरेर नतिजालाई दिगो बनाउँछौँ ।’’

यसैगरी, कार्यक्रममा बोल्नुहुँदै सङ्घीय संसद् सदस्य एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारमार्फत जनताका गुनासो सुनुवाइ गर्ने प्रणालीलाई संस्थागत गर्ने आफ्नो जिम्मेवारीलाई पूरा गर्ने बताउनुभयो । प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आत्मीय समन्वय हुनुपर्ने साथै चुनावी दौरानमा राजनीतिक प्रतिस्पर्धा भए पनि विकासमा मिलेर अघि बढ्नुपर्ने धारणा सिंहले व्यक्त गर्नुभयो ।

‘‘सङ्घ र प्रदेशले प्रदेश १ को सामुदायिक शिक्षाको विकासका लागि २२ करोड रुपियाँभन्दा धेरै लगानी गरिसकेको छ । विद्यार्थीहरू भने निजी विद्यालयतिर केन्द्रित छन् ।,’’ कार्यक्रममा प्रदेश सरकारका पर्यटन तथा सम्पदा मन्त्रालयको मन्त्री दीपेन्द्र श्रेष्ठले भन्नेभयो, ‘‘विकास निर्माणमा राज्यको खर्च भइरहने तथा नतिजा नदेखिने प्रणालीमा सुधारको खाँचो देखाउनुभयो । व्यवस्था परिवर्तन भयो । सोच परिवर्तन भएन । समस्या यही हो ।’’

कार्यक्रममा बिजुलीका नाङ्गो तारलाई छोप्नुपर्ने, सडक, ढल र खानेपानी वितरण प्रणालीको नियमित मर्मत सम्भार गर्नुपर्ने, युवा केन्द्रित लागूऔषध दुर्व्यसन, रोजगार प्रवर्द्धन र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम बढाउनुपर्ने सुझाव प्राप्त भएको छ ।

त्यस्तै, फोहोरमैला व्यवस्थापनका लागि क्षेत्र नम्बर १ मा ट्रान्सफर स्टेसन बनाउनुपर्ने, मगरगाउँमा सडक र पानी पुर्‍याउनु पर्ने, पूजा प्रतिष्ठानमा रहेको ढुङ्गेधाराको पानी पिउन योग्य बनाउनुपर्ने माग छ ।

महिला उद्यमशीलता प्रवर्द्धन र उत्पादित बस्तुको बजारीकरणमा नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने, रत्न राज्य विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुन नसकेकोले यसलाई सुरुवात गर्नुपर्ने, बर्खामा रुद्रमती विद्यालयमा पानी पस्ने समस्या समाधान गरिदिनुपर्ने सहभागीको माग छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछाने, शान्ता ढकाल, वडा २९ का अध्यक्ष कुश ढकालसहित स्थानीयहरू सहभागी हुनुहुन्थ्यो । सङ्घ  तथा प्रदेश सभाका सांसद, छिमेकी वडाका जनप्रतिनिधि, विभागका पदाधिकारीलाई उपस्थित गराएर कार्यक्रम सञ्चालन गरिएको थियो ।