• ११ मंसिर २०८१, मङ्गलबार

विमानस्थल अन्तिम चरणमा

blog

कालीकोट समाचारदाता

कालीकोट, पुस २३ गते । कोटावाडामा निर्माणाधीन सुनथराली विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य सुरु भएको करिब ३८ वर्षमा विमानस्थल निर्माण पूर्णता पाउन लागेको छ। 

बिहीबार सुनथराली विमानस्थलको अवलोकनमा पुगेका जिल्लाका सरोकारवालाले आगामी वैशाख महिनासम्म विमान निर्माण पूरा हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले कालोपत्रेको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै आगामी वैशाख महिनासम्म विमानस्थलले पूर्णता पाउने अपेक्षा व्यक्त गर्नुभयो। २०४२ सालदेखि निर्माण सुरु भएको सो विमानस्थल विभिन्न कारणले समयमै निर्माण हुन सकेको थिएन। सशस्त्र द्वन्द्व तथा अन्य विविध कारणले यो विमानस्थल बन्न करिब ३८ वर्ष लागेको छ। 

२०५८ साल फागुन महिनामा तत्कालीन राज्य पक्षबाट स्थानीयसहित ३२ जना कामदारको सामूहिक हत्या भएको थियो। त्यसयता पूर्ण रूपमा बन्द रहेको विमानस्थलको निर्माण कार्य देशमा शान्ति स्थापनापछि पुनः सुरु भयो तर कामले गति लिन नसक्दा अहिलेसम्म सुनथराली विमानस्थल सञ्चालनमा आउन सकेको छैन। 

२०७१ सालमा परीक्षण उडान भएको विमानस्थलमा त्यसयता हवाईजहाज फर्केर आएका छैनन्। अब विमानस्थल कालोपत्रेको काम अन्तिममा रहेकाले जहाज आउने आशा स्थानीयको छ।