• १० मंसिर २०८१, सोमबार

कृषकको उत्पादन विद्यार्थीलाई खाजा

blog

जाजरकोट समाचारदाता

जाजरकोट, पुस २३ गते । जाजरकोटका सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा स्थानीय उत्पादन प्रयोगमा ल्याएका छन्। विद्यालयमा दिवा खाजा कार्यक्रमका संयोजक चन्द्रबहादुर विश्वकर्माका अनुसार विद्यालयमा हरियो सागपात, अन्न समूह, गेडागुडी र अन्य समूह (मासु) गरी कार्बाेहाइडे«ड, खनिज, भिटामिन, प्रोटिनलगायत आवश्यक पोषण तत्वको सम्मिश्रणसहितको दिवा खाजाको व्यवस्था गरिएको छ।

बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको रूपमा स्थानीय उत्पादन प्रयोग गरिएको जनाइएको छ। जाजरकोटका ४६८ वटा सामुदायिक विद्यालयका ४९ हजार १०२ विद्यार्थीलाई दिवा खाजाका रूपमा स्थानीय उत्पादन प्रयोग गर्न थालिएको छ। प्रतिविद्यार्थी १५ रुपियाँका दरले जम्मा १८० दिनका लागि झन्डै १३.५ करोड रुपियाँ अनुदान बजेट जाजरकोटका लागि नेपाल सरकारले व्यवस्था गरेको छ। 

कार्यक्रमले बालबालिकाको विद्यालयमा भर्ना र नियमिततालाई मात्र ध्यान नदिई उनीहरूको स्वास्थ्य र पोषणलाई समेत ध्यानमा राखेको बताइएको छ। जिल्लामा एक सयभन्दा बढी कृषक समूहलाई यस मौसममा उत्पादन हुने बीउबिजन वितरण गरिएको छ। कृषक समूहले उत्पादन गरेको स्थानीय उपजलाई सहकारीले खरिद गरी विद्यालयको मागका आधारमा आपूर्ति गरिरहेको जनाइएको छ। 

नेपाल सरकारबाट प्राप्त बजेट स्थानीयस्तरका कृषक समूहमा रहने, स्थानीय उपज स्थानीयस्तरमा खपत हुने, कृषकको आम्दानीमा वृद्धि हुने र विद्यालयका बालबालिकाले सफा, ताजा, स्वच्छ र पोषणयुक्त खाजा खान पाउने भएकाले प्रभावकारी भएको शिक्षकको भनाइ छ। 

पहाडी क्षेत्र विकास अभियानका निर्देशक रणबहादुर कार्कीका अनुसार जाजरकोटमा विश्व खाद्य कार्यक्रम र मर्सिकोरको आर्थिक सहयोगमा विद्यालयमा दिवा खाजा जिल्लाभर कार्यान्वयनमा आएको छ।