• २२ असार २०८१, शनिबार

दाना उत्पादन गर्दै कुखुरा विकास फार्म

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, पुस २३ गते । बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले दाना उत्पादन सुरु गरेको छ । लुम्बिनी प्रदेशको एक मात्र सरकारी फार्मले १२ हजार प्यारेन्ट कुखुरा (अन्डा उत्पादन गर्ने माउ)का लागि दाना उत्पादन सुरु गरेको हो । 

यो फार्मले ‘एल थ्री’ दाना उत्पादन सुरु गरेको सो फार्मका प्रबन्धक डा. शङ्कर न्यौपानेले जानकारी दिनुभयो । उहाँले गुणस्तरीय दाना उत्पादन सुरु गरेर खुवाउन थालेपछि अन्डा उत्पादनमा २० प्रतिशत वृद्धि भएको बताउनुभयो । 

फार्मले कार्यालय परिसरमै दाना मिल स्थापना गरी मास (कुखुराको) दाना उत्पादन गर्ने दुई प्लान्टले प्रतिघण्टा छ टन दाना उत्पादन गर्दै आएको छ । एउटा क्याटल (गाईबस्तुको) दाना उत्पादन गर्न र अर्को कुखुराका लागि दाना बनाउन मिलको प्रयोग गरिएको फार्म प्रबन्धक डा. न्यौपानेले बताउनुभयो । 

एउटा दाना मेसिनबाट आमकिसानका लागि दाना बनाउने कार्य गरिएको र अर्कोबाट फार्मकै लागि दाना बनाउने काम भइरहेको उहाँले बताउनुभयो । 

कुखुरा विकास फार्म खजुरामा हाल प्रतिदिन १० क्विन्टल दाना खपत हुँदै आएको छ । बाहिरबाट दाना किन्नुभन्दा फार्ममै रहेको मिलबाट दाना बनाउँदा गुणस्तरीय दाना उत्पादनका साथै प्रतिकिलो १० देखि १५ रुपियाँ सस्तो पर्ने फार्म प्रबन्धक डा. न्यौपानेको भनाइ छ । 

फार्ममा दाना उत्पादन सुरु गरिएपछि मौसमअनुसार आवश्यक मात्रामा उत्पादन गरेर राख्न सकिने हुँदा पनि यसको प्रत्यक्ष प्रभाव कुखुराको उत्पादनमा देखिएकाले उत्पादन वृद्धि भएको फार्मका योजना अधिकृत कर्मध्वज छन्त्यालले जनाउनुभयो । दाना मिल आफ्नै हुँदा अन्डा उत्पादन बढ्नुका साथै कुुखुरामा लाग्ने लागत कम हुने देखिएको योजना अधिकृत छत्यालले बताउनुभयो । 

नेपाल सरकारको मातहतमा रहेर सञ्चालनमा रहेको कुखुरा विकास फार्ममा न्यु हेम्पसायर र अस्ट्रालोर्प जातका कुखुरा र केही स्थानीय अन्य जातका कुखुरा छन् । 

एक वर्षअघि दाना उद्योगका लागि भवन निर्माण गरी मिल स्थापना गरिए पनि हालै मात्र दानाको उत्पादन सुरु गरिएको हो ।