• १३ असोज २०८१, आइतबार

थारु कला संस्कृतिको संरक्षण भएन : मन्त्री चौधरी

blog

लीलाधर वली

घोराही, पुस २२ गते । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघ पर्वको पूर्व सन्ध्यामा  घोराहीमा माघ महोत्सव सुरु भएको छ । थारु समुदायका परम्परागत, भेषभुषा संरक्षण तथा थारु परिकारको प्रचार प्रसारसँगै संरक्षणमा सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गर्नुभयो ।

महोत्सवको उदघाटन गर्दै मन्त्री चौधरीले थारु जाती कला संस्कृतिमा धनी भए पनि संरक्षण हुन नसकेको बताउनुभयो । ‘थारुको आफनै कला संस्कृति छन । तर त्यसको सरक्षण र विकास र प्रचार भएको छैन’, मन्त्री चौधरीले भन्नुभयो, ‘राज्यका तीनवटै सरकारले यसको संरक्षण र विकासमा योजना बनाएर काम गर्ने समय आएको छ ।’ भाषा र अधिकार स्थापितको लागि सरकारले काम गर्नुपर्ने उहाँको भनाइ छ ।


महोत्सवले थारुहरुको कला, संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । माघी थारु समुदायको नयाँ बर्ष भएको भन्दै मन्त्री चौधरीले नयाँ बर्षलाई हर्षउल्लासँगै बर्षभरी गर्ने काम र योजनाका बारेमा छलफल हुने बताउनुभयो । मन्त्री चौधरीले कला संस्कृतिमा देखिएका विकृतीहरु हटाउदै नयाँपुस्ता अगाडि वढनुपर्ने बताउनुभयो ।

घोराहीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजना गरिएको महोत्सवको पहिलो दिन थारु कला, संस्कृति झल्किने थारु भेषभुषासहित हलोजुवा, छिट्वा, गैजा, ढकिया, डेल्वा, बन्ठि, छट्री, हेल्का डेल्लासहित घोराहीको मुख्यबजारमा परिक्रमा गरिएको थियो । महोत्सवको दोस्रो दिन थारु समुदायसँग सम्वन्धित पाँच दर्जनभन्दा बढी मघौटा, छोक्रा, हुर्डुङ्या नाच र स्थानीय कलाकारसहितको प्रस्तुति रहने आयोजकले जनाएको छ ।  


‘आर्थिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्यायसहितको सम्बृद्धिमा हाम्रो योगदान’ मूल नाराका साथ आयोजना भएको महोत्सवको मुख्य आकार्षण मघौटा, छोक्रा, हुर्डुङ्यालगायत पाँच दर्जनभन्दा बढी नाच प्रस्तुति भएको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार थारु परिकार ढिक्री, घोङघी, माछा, गंगटालगायत परिकारहरु समेत विक्रि वितरणको लागि स्टलमा राखिएको छ ।