• १३ असोज २०८१, आइतबार

लुटपातका घटना बढेपछि घोडाघोडीमा प्रहरी बिट

blog

घोडाघोडी ताल नजिक स्थापना भएको प्रहरी बिट । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), पुस २२ गते । जैविक विविधताले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडी तालमा दैनिकजसो लुटपात, कुटपीटका घटना बढ्दै गएपछि सुरक्षाका लागि प्रहरी बिट स्थापना गरिएको छ । करिब २६ सय हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल वरपर सामुदायिक वन रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित घोडाघोडी तालमा दिनप्रतिदिन घुम्न आउनेको संख्या बढेसँगै सो क्षेत्रमा दिउँसै लुटपातका घटना बढ्न थालेपछि स्थानीयले सुरक्षा व्यवस्थाको मागगर्दै आएका थिए ।

घोडाघोडी ताल क्षेत्रको रेखदेख प्रवेश शुल्क लिने कार्यमा खटिएका स्थानीय पदम ढकालले ताल क्षेत्र अवलोकनका लागि आउने पर्यटकको दिनडहाडै मोबाइल, पैसा लुटपात हुनुका साथै कुटपिटका घटना बढ्दैगएको बताउनुभयो । उहाँले पर्यटक नै असुरक्षित बन्न थालेपछि घोडाघोडीमा प्रहरी बिट स्थापना भएको बताउँदै पछिल्लो समय यस्ता घटनामा केही कमी आएको बताउनुभयो ।

घोडाघोडी हिजोआज लागुपदार्थ दुव्र्यशनको अखडा बन्दैगएको समेत स्थानीयले बताएका छन् । स्थानीय मैना  ढकालले लागुपदार्थ सेवन गर्ने र दिनभर ताल वरपर बरालिने यु्वाबाट नै घोडाघोडीमा घुम्न आउनेको मोवाइल गरगहना लुटपात हुनेगरेको बताउनुभयो । 

विश्व रामसार सूचीमा सूचीकृत भएर सन् २००३ देखि विश्व सिमसार क्षेत्रको रुपमा घोडाघोडी तालको पहिचान हुँदै आए पनि यस क्षेत्रको सुरक्षालगायत संरक्षणको क्षेत्रमा सरकारले खासै चासो दिन नसकेको स्थानीयको गुनासोलाई प्रहरी बिट स्थापनाले थोरै भएपनि  राहत दिएको छ । 

घोडाघोडीमा ईको टेल रिर्सोट सञ्चालक तथा पर्यटन व्यवसायी डबल शाहले घोडाघोडीमा बढ्दैगएको असुरक्षाका कारण एक पटक घुम्न आएको मानिस अर्को पटक घुम्न आउने बातावरण नबनेको बताउनुभयो । विगतदेखि नै असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले घोडाघोडीमा प्रहरी बिटको माग गर्दैआएका थिए । 

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले घोडाघोडीमा सुरक्षा व्यवस्था खाँचो रहेको बताउँदै प्रहरी बिट स्थापना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म आएपछि यहाँ सबैभन्दा बढी लागु पदार्थका मुद्दा दर्ता भएका छन् । घोडाघोडीमा लुटपात मच्चाउने पनि तिनैमध्ये पर्छन् । वाबु आमा नभएका, निम्नबर्गीय परिवारका भर्खरका केटाहरु बढी यस्ता घटनामा संलग्न छन् ।’

अरुदिन एक जना प्रहरी बिटमा खटिने भए पनि शनिबार र बिदाको दिन पर्यटकको बढी चहल पहल हुने भएकाले समुहमा प्रहरी खटिने गरेको प्रहरी प्रमुख शाहीले बताउनुभयो ।