काठमाडौं, पुस २२ गते । देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लागेको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।
विभागले तराईका धेरै भूभागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही पश्चिम र मध्य तराइका धेरै भूभागमा हुस्सु/कुहिरो लागिरहेको छ ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १६ दशमलव आठ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस छ ।