• ११ मंसिर २०८१, मङ्गलबार

राजनीतिक आकर्षण कि विकर्षण

blog

कुनै राजनीतिक शक्ति र जनताबीचको सम्बन्ध प्रगाढ बनाउने  र आपसमा आकर्षण शक्ति बढाउने हो भने दुवै राजनीतिक शक्ति तथा समर्थक जनताको मास बढाउने रणनीति बनाएर अगाडि बढ्नुपर्छ । राजनीतिक पार्टीले आफ्नो आकर्षण बढाउन पार्टी सङ्गठनलाई मजबुत बनाउँदै गुणस्तरीय पार्टी सदस्य बनाई पार्टीको मास बढाउनुपर्छ । साथै देश र जनताका हितमा समर्पित भएर इमानदारीका साथ काम गर्दै आफ्ना समर्थकको मास बढाउने कार्यलाई पनि उच्च प्राथमिकता दिनुपर्छ । देश र जनताको हितलाई बेवास्था गरी पार्टीमा आबद्ध शक्तिको नजिक रहेका नेता तथा कार्याकर्ता व्यक्तिगत फाइदा र स्वार्थमा लिप्त हुन थाले भने एकातिर इमानदार नेता, कार्यकर्ता तथा शुभचिन्तकमा वितृष्णा पैदा हुन्छ भने अर्कातिर जनतामा पनि वितृष्णा पैदा हुन्छ ।

राजनीतिक शक्तिको राम्रो काम तथा देश र जनताप्रति समर्पणको भावनाले मात्र जनताको आकर्षण बढेर जान्छ । जनताको ठूलो समूह एकीकृत भई जनताले शक्तिको केन्द्रमा पु¥याउने काम गर्छ । राजनीतिक शक्तिमा वैचारिक र सैद्धान्तिक रूपमा खारिएका गहकिलो मास जति बढ्दै जान्छ त्यति नै जनतालाई आकर्षण गर्ने शक्ति पनि उच्च हुन्छ । त्यसैले राजनीतिक शक्ति वैचारिक तथा सैद्धान्तिक रूपमा खारिएर तथा देश र जनताप्रति समर्पित भएर काम गर्ने क्षमताको विकास गर्न सक्नुपर्छ । राजनीतिक शक्ति र जनताको शक्तिको मासमा हुने घटबढले आकर्षण शक्तिमा जसरी घटबढ ल्याउँछ, त्यो भन्दा बढी ती दुई शक्तिबीचको दूरीको घटबढले प्रभाव पार्छ ।

कुनै राजनीतिक शक्ति, पार्टी, सिद्धान्त, विचार वा व्यक्तिले आकर्षण शक्ति बढाउन नेता, कार्यकर्ता, शुभचिन्तक तथा जनताको मास बढाउने र जनतासँगको दूरी घटाउने दुवै रणनीतिलाई प्राथमिकतामा राख्नुपर्छ । कुनै पनि राजनीतिक शक्तिले आफू शक्ति केन्द्रमा रहिरहने हो भने जनतासँगको दूरी कहिल्यै पनि बढ्न दिँदैन । दूरी कम गर्ने नीति तथा कार्यक्रम जनताबीच लैजानुपर्छ । जनता र राजनीतिक शक्तिको दूरी घटाएर नङ र मासुको जस्तो सम्बन्ध विकास गर्ने रणनीतिले आकर्षण शक्ति सबैभन्दा बढी हुने गर्छ ।

राजनीतिक शक्ति अर्थात् पार्टीले जनताका समस्या निराकरणका उपाय खोजी गरी न्यायिक तथा पारदर्शी ढङ्गले समाधान गर्दै अगाडि बढिरहनुपर्छ । नयाँ समस्या सिर्जना हुन नदिन समयमा नै आपसी समझदारीका साथ समाधान गर्ने रणनीति लिनुपर्छ । त्यसले राजनीतिक शक्ति र जनताबीच कुनै अवरोध सिर्जना हुन नदिने हुँदा बिनाअवरोध देश र जनताको सेवामा समर्पित भएर काम गर्दा शासक र शासितबीचको दूरी घटेर जान्छ । त्यसरी शासक र शासितबीचको दूरी न्यूनीकरण रणनीतिले समाजलाई उन्नत बनाउँदै समृद्ध समाजको दिशामा अगाडि बढाउन सहज वातावरण सिर्जना गर्छ । जब शासक र शासितबीचको दूरी शून्यमा परिणत हुन्छ र दुवैतिरको मास अन्तरघुलित भई विधि पद्धतिअनुसार स्वचालित रूपमा सभ्य र न्यायिक प्रणालीले समाजको नेतृत्व गर्छ तब समाज उन्नत तथा सुशासनयुक्त राजनीतिक प्रणालीको चरणमा अगाडि बढ्छ । 

पार्टीमा जनता र कार्यकर्ताको पङ्क्ति बढ्ने वा घट्ने भन्ने कुरा पार्टीले लिएको सिद्धान्त, विचार तथा नीति र कार्यक्रममा भर पर्छ । असल सिद्धान्त, विचार तथा नीति र कार्यक्रमप्रति जनता आकर्षित हुन्छन्, जसले गर्दा समर्थक, शुभचिन्तकको मास पनि पार्टीमा बढ्दै जान्छ । जनता र पार्टीबीचको आकर्षण शक्ति बढाउने कार्यमा सचेत हुँदै नेता, कार्यकर्ता तथा पार्टीका शुभचिन्तक फलामे अनुशासनमा बाँधिएरआ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गर्न सक्नुपर्छ । जो देश र जनताप्रति जवाफदेही भएर जनताको सेवा र भलाइमा समर्पित हुन्छ, त्यस्ता नेता तथा कार्यकर्ताप्रति जनताको आकर्षण बढ्छ । आकर्षण बढ्नु भनेको जनता र नेतृत्वबीचको दूरी घट्नु र जनताको पङ्क्ति थपिँदै जानु हो ।

कुनै नेतृत्व वा पार्टीले आफ्नो अस्तित्वलाई जोगाएर लोकप्रिय बन्न इमानदारसँग आमजनताको भावानाको कदर गरी सही निर्णय लिन सक्नुपर्छ । सकारात्मक कार्यको परिणाम तथा प्रतिक्रिया पनि सकारात्मक नै आउने भएकाले सकारात्मक सोचबाट अगाडि बढ्ने वातावरण बनाई दूरी घटाउने काम गर्नुपर्छ । जुन शक्ति निरन्तर जनतामाझ गएर जनताको सुख दुःखमा सहभागी बन्दछ, जनताका समस्या समाधान गर्न तल्लीन हुन्छ, त्यो शक्ति जनतामा स्थापित हुन्छ । जनचाहनाअनुसार जनताको भावना बुझेर जनसेवामा समर्पित हुने नीति तथा कार्यक्रमले जनताको पङ्क्ति बढाउने र जनताबीचको दूरी घटाउने काम गर्ने भएको हुँदा जनतालाई पार्टीले जाडो समयको पारिलो घामले जस्तो न्यानोपन दिन सक्नुपर्छ ।

विश्वासिलो नेतृत्वको पछाडि जनता लाग्छन्, कार्यकर्ता तथा शुभचिन्तक गोलबन्द हुन्छन्, त्यसैले असल सोचका साथ निःस्वार्थ भावनाले गरिएको कार्यले नै आमजनताको विश्वास जित्न सकिन्छ । पार्टीले आफ्नो शक्ति तथा प्रभाव बढाउन तथा जनताको आशाको केन्द्रबिन्दु बन्न आपसमा संवाद, सहमति, सहकार्य र एकतामा निरन्तरता दिँदै आफ्ना कमीकमजोरी सुधारी जनहितमा दृढताका साथ उभिन सक्ने क्षमताको विकास गर्नुपर्छ । मास बढाउन तथा दुरी घटाउन जनताको सेवालाई मूल मन्त्र ठानेर जनताको काम गर्र्न सधैँ तयारी अवस्थामा रहनुपर्छ । जनताको काम छिटो छरितो ढङ्गले गर्ने नीति लिँदै पार्टीले पुरानो पहिचान होइन, सधैँ नयाँ पहिचानको खोजी गरेर अगाडि बढ्नुपर्छ । 

जनताले आफू र आफ्नो पार्टीलाई कसरी लिन्छन्, त्यसको जानकारी लिँदै गर्नुपर्छ, सधैँ एउटै कुरा मात्र दोहो¥याएर जनतालाई निरुत्साही गर्नुहुँदैन, लाभको एजेन्डालाई प्राथमिकता दिएर परिवर्तनको एजेन्डालाई ओझेलमा पार्नुहुँदैन, अर्काको कमीकमजोरी, गल्ती खोज्नुभन्दा पहिले आफ्ना कमजोरी र गल्ती खोज्ने बानी बसाल्नुपर्छ, पार्टीभित्र जागेको खराब प्रवृत्तिको विरुद्ध तथा निराकरण अभियानमा स्वस्थ अन्तरपार्टी सङ्घर्ष चलाउनुपर्छ । साथै जिम्मेवारीमा रहँदा व्यक्तिवादी चिन्तन र सोचलाई त्यागेर संस्थागत निर्णयमा जोड दिनुपर्छ, नेतृत्वले आफूलाई सामान्य अनुकूल बनाई पार्टीभित्र रहेका फरक सोच र विचार राख्ने सबैलाई समेट्दै सही दिशामा अगाडि बढाउने रणनीति लिनुपर्छ ।

पार्टीको नेतृत्वले जनतालाई विजयको शिखरसम्म पु¥याउन धैर्यता र साहस गर्नुपर्छ, परिवर्तनका लहर ल्याई पार्टी सदस्य, शुभचिन्तक तथा जनतालाई पुनर्ताजगी बनाउनुपर्छ । समुदायका कुरा सुन्दै जनताकोे भावना बुझेर त्यसबाट आफूलाई रूपान्तरित गर्न सक्नुपर्र्छ र जनताको मन मस्तिष्कमा रहेका अवधारणलाई प्राथमिकतासाथ सम्बोधन गर्न सक्नुपर्छ । देश र जनताको हितमा आएका विचारलाई कुर्सी र पैसाले दबाउन दिनुहुँदैन । पार्टी नेतामुखी नभएर नीतिमुखी हुनुपर्छ र पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्छ । विचारलाई व्यवहारमा उतार्दै असल आचरण र चरित्र निर्माणमा जोड दिनुपर्छ । त्यसैले जनता र पार्टीबीचको दूरी घट्नुको साथै पार्टीलाई माया गर्ने जनता र पार्टी कमिटीभित्र गोलबन्द नेता तथा कार्यकर्ताको मास क्रमिक रूपमा बढ्दै जान्छ ।

पार्टीको आन्तरिक जीवनमा आन्तरिक कलहको व्यवस्थापन गर्न विशेष ध्यान दिनुपर्छ, गैरराजनीतिक संस्कार मौलाउन दिनुहुँदैन । पार्टीभित्र गुटगत प्रभाव बढ्दै गयो भने आन्तरिक कलह पनि बढ्दै जान्छ र पार्टीभित्रका फरक धारबीच शक्ति सङ्घर्ष सुरु भई आपसमा दूरी बढ्छ । क्रमिक रूपमा दूरी बढ्दै गयो भने पार्टीभित्र विचलन आई विभाजनको अवस्थामा पनि पुग्छ । त्यसैले पार्टीको आन्तरिक जीवन बलियो बनाउन पार्टी परिवारलाई वैचारिक र सैद्धान्तिक रूपमा खारेर सामूहिक हितमा जोड्न सक्नुपर्छ ।

पार्टी तथा नेतृत्वले राष्ट्रलाई अन्तर्राष्ट्रिय हस्तक्षेप र दबाबबाट जोगाउने क्षमताको विकास गरेर कूटनीतिक समस्या समाधान गर्दै सन्तुलित रूपमा कूटनीतिक सम्बन्धको विकास गर्नुपर्छ । राष्ट्रको नेतृत्व गरेका पार्टी तथा सरकारले राष्ट्रलाई बेरोजगार, गरिबी र अभावबाट बचाउने रणनीतिका साथ काम गर्नुपर्छ । समृद्ध राष्ट्रनिर्माणको आधार बनाउन नागरिकमा राष्ट्रिय एकता र राष्ट्रियताको भावना जगाई विकासको गति बढाउनुपर्छ । 

मौलिक अर्थतन्त्रको विकासमा जोड दिँदै आर्थिक विकासका लागि भ्रष्टाचारविरोधी अभियानमा नेतृत्वले पार्टी, पार्टीमा आबद्ध कार्यकर्ता र जनताको मानसिकता सधैँ उच्च बनाउँदै विकृति र विसङ्गतिको विरुद्ध अभियान चलाउनुपर्छ । नेतृत्वले आफू कार्यरत रहेको क्षेत्रबाट समाजको प्रगतिशील रूपान्तरणको प्रक्रिया प्रारम्भ गर्दै परिवर्तनलाई गाउँगाउँमा गरिखाने तथा गरिब वर्गसम्म पु¥याउन सक्नुपर्छ । मुलुकले आफूलाई के दिन्छ भन्दा पनि आफूले मुलुकलाई के दिन सक्छु भन्नेमा आपूmलाई केन्द्रित गर्न सक्नुपर्छ । साथै जनताप्रति संवेदनशील भएर जनताका पिरमार्कालाई ठोस रूपमा समाधान गर्नुपर्छ । पार्टी सरकारमा रहँदा होस् वा बाहिर रहँदा होस्, सुशासनमा विशेष ध्यान दिनुपर्छ र सुशासनलाई पार्टीको पहिचान बनाउनुपर्छ ।

पार्टीले राजनीतिक स्थायित्व कायम गर्दै, आर्थिक विकासको रोडम्याप तयार गरेर विकासको गतिलाई तीव्र बनाउनुपर्छ । आर्थिक विकासका लागि विकासका एजेन्डालाई आत्मासात् गरेर अगाडि बढ्नुको साथै राष्ट्रिय चुनौतीको सामना पनि गर्न सक्नुपर्छ । समृद्धि, शान्ति र विकासका लागि त्याग, समर्पण र इमानदार बन्नैपर्छ । आर्थिक समृद्धिको नेतृत्व गरी गरिबी र बेरोजगारको अन्त्य गर्न सक्नुपर्छ, गलत राजनीतिक अभ्यास गरेर समाजमा तनाव उत्पन्न गर्ने र समृद्धिको बाधक बन्नु हुँदैन ।