• १२ मंसिर २०८१, बुधबार

प्रदेश सरकार गठनको कसरत

बागमतीमा प्रमुख चार दलको मुख्यमन्त्रीमा दाबी

blog

फाइल तस्बिर

राममणि दाहाल 

हेटौँडा, पुस २१ गते । बागमती प्रदेशका प्रदेश प्रमुखबाट सरकार गठनका लागि आव्हान भएसँगै सरकार निर्माणका लागि सांसद संख्याको जोड घटाउ सुरुभएको छ । प्रदेश सभामा रहेका दलहरुले आफ्नो नेतृत्वमा सरकार गठनको तयारीलाई तीव्र बनाएका छन् । 

प्रदेश सभाको पहिलो कार्यकालको अन्तिमसम्म रहेको सत्ता गठबन्धन टुटेर केन्द्रमा नयाँ गठबन्धन बनेसँगै प्रदेशमा समेत त्यसको प्रभाव परेको छ । बागमती प्रदेशमा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्वको दावी गर्दैआएको छ । 

केन्द्रमा गठबन्धनमा परिवर्तन भएपछि पछिल्लो समय यस प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्रीको दावी गरेका छन् । प्रदेशको दोस्रो ठूलो दल एमाले, तेस्रो ठूलो दल माओवादी केन्द्र हुँदै अहिले प्रदेश सभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत मुख्यमन्त्रीको दावी गरेको छ । प्रदेशसँगै सङ्घीयताको खारेजीको माग गर्दैआएको राप्रपाले बागमती प्रदेशमा मुख्यमन्त्रीमा दावी गर्नुलाई चासोको साथ हेरिएको छ ।

केन्द्रीय गठबन्धनको सरकारलाई समर्थन गरेको राप्रपा बागमती प्रदेशलगायतका केही प्रदेशमा प्रदेश सरकार गठनमा निर्णायक देखिएको छ । ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनका लागि बहुमतका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक पर्छ । तर यस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये कुनै पनि दलको सरकार गठनका लागि एकल बहुमत नपुग्ने भएकाले सत्ता समिकरणको विकल्प छैन ।

बागमती प्रदेशमा सबैभन्दा ठूला दल रहेको कांग्रेसले सरकारको नेतृत्वको दावी गर्दै सरकार गठनका लागि प्रयास गरिरहेको छ । केन्द्रमा माओवादी केन्द्रसँगको गठबन्धन टुटेपछि कांग्रेसले फरक समिकरण गरी राप्रपा र नेकपा (एकीकृत समाजवादी) सहितको सरकार बनाउने प्रयास गरेका हो । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङले यस प्रदेश सभा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल र वार्ता भइरहेको जानकारी दिनुभयो । 

यस प्रदेशमा कांग्रेसको ३७ जना प्रदेश सभा सदस्य छन् । कांग्रेसलाई १३ जना प्रदेश सभा सदस्य रहेको राप्रपा र ७ जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीको समर्थन भएमा सरकार गठनका लागि आवश्यक बहुमत पुग्नेछ ।

यस्तै, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रमा भएको समिकरणअनुसार एमालेले प्रदेश सरकार नेतृत्व दावी गर्नु स्वाभाविक भएको बताउनुभयो । उहाँले केन्द्रमा नै प्याकेजमा सहमति हुने बताउनुभयो । माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेशको मुख्यमन्त्रीमा आफूहरुको दावी रहेको बताउँदै केन्द्रको निर्णयअनुसार कसको नेतृत्वमा सरकार बन्ने भन्ने बारेमा निधो हुने बताउनुभयो । 

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धब थापाले राप्रपाले केन्द्रमा गठबन्धनको सरकारलाई समर्थन गरेकाले यहाँ आफूहरुले मुख्यमन्त्री पाउनुपर्ने बताउनुभयो । राप्रपा निर्णायक शक्ति बनेको छ थापाले भन्नुभयो, “परिस्थिति र आवश्यकताका आधारमा राप्रपाले सरकारको नेतृत्वको दावी गरेको हो ।”

यस प्रदेशमा एमालेको २७ जना, माओवादी केन्द्रको २१ जना, नेपाल मजदुर किसान पार्टीको ३ जना र हाम्रो नेपाली पार्टीको २ जना प्रदेश सभा सदस्य छन् । प्रदेश प्रमुखले पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दावीसहित सरकार गठनका लागि आव्हान गर्नुभएको छ ।