शिवशंकर मिश्र
बारा, पुस २१ गते। स्कोर्पियोले साइकल र स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ टागियाँबस्ती निवासी ४० वर्षीय राजेन्द्र माझीको दुर्घटनामा मृत्यु भएको हो।
टागियाँबस्तीबाट पिलुवातर्फ जाँदै गरेको साइकल र प्रदेश २-०३-०० प ४५८७ नम्बरको स्कुटरलाई बिहीबार बिहान ग २ च ४४१३ नम्बरको स्कोर्पियोले ठक्कर दिएको हो। स्कुटर चालक माझीको अल्पाइन अस्पताल सिमरामा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो।
ठक्करबाट सोही टोलका साइकल चालक २८ वर्षीय रुपा आले, साइकलमा सवार २९ वर्षीया सोनिया योञ्जन घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुर्दशन थापाले जानकारी दिनुभयो।
ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।