• १२ मंसिर २०८१, बुधबार

फागुन २ गतेदेखि भृकुटीमण्डपमा औद्योगिक मेला महोत्सव हुने

blog

नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेलाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिर : अजय शर्मा

काठमाडौं, पुस २१ गते । नेपाल १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९ आगामी फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको थियो । यस पटक भने अगामी फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना उक्त मेला महोत्सव हुन लागेको हो ।

प्रदर्शनीबारे आज (बिहीबार) राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने बताउनुभयो ।

“नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ” र “मिहिनेत, सृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने प्रदर्शनीको मुख्य नारा रहेको भन्दै उहाँले भन्नुभयो, “हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन समेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुस, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुनेछन् ।”

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासङ्घले जनाएको छ । प्रदर्शनीमा दुई सय वटा स्टलको व्यवस्था हुने र दुई लाखभन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।

नेपालको अर्ग्यानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरूलाई समेत आकर्षित गर्न अर्ग्यानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको र यस्ता उत्पादनहरू उपभोग गर्न उपभोक्ताहरू समेत जागरूक रहेको परिप्रेक्ष्यमा अर्ग्यानिक उत्पादनका बारेमा आम नागरिकलाई सचेतना गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको अध्यक्ष सिंहले जानकारी दिनुभयो । त्यस्तै, सहज रूपमा अर्ग्यानिक उत्पादनहरू उपलब्ध गराउन यस्ता उत्पादनको बिक्री वितरणलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ अर्ग्यानिक एसोसिएसनसँगको सहकार्यमा कृषिका अर्ग्यानिक उत्पादनहरूको छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

पत्रकार सम्मेलनमा महासङ्घका सल्लाहकार वासु गिरी, लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू क्रमशः मुकेश उपाध्याय, महेन्द्र चित्रकार, राजेन्द्रमान श्रेष्ठ, मोहन कटुवाल, शान्ता बाँस्कोटा, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत प्रसाद पाण्डे, केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्याय, वरिष्ठ उपाध्यक्ष रीता अवाल, महासङ्घ काठमाडौँ जिल्ला अध्यक्ष पद्मकुमारी कार्की, केन्द्रीय महिला उद्यमी समितिका महासचिव डा. सोनी महतो र सचिव दीपा शाक्य, बागमती प्रदेश महिला उद्यमी समितिका अध्यक्ष सूलोचना श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।