काठमाडौं, पुस २१ गते। नेकपा (एकीकृत समाजवादी)ले वाम एकता कार्यदल गठन गरेको छ। पार्टीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि कार्यदल गठन गरेको हो।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय ४५ औं सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो।
बैठकले कार्यदलमा भुसालसहित गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहनुभएको खतिवडाले बताउनुभयो। उहाँले कार्यदलले वामपन्थीसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने जानकारी दिनुभयो।
‘‘हामीले गत पोलिटब्यूरो बैठकबाट एउटा प्रस्ताव पारित गरेका थियौँ। वाम एकताका लागि विभिन्न ढङ्गले पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले सुरुवात गर्ने भनेर निर्णय गरेका थियौँ। यसै विषयमा व्यापक छलफल गरेका छौँ,’’ उपमहासचिव खतिवडाले भन्नुभयो, ‘‘विगतमा हामीले बनाएको एउटा कमिटी थियो, जसले ४–५ वटा पार्टीलाई हाम्रो पार्टीमा समावेश गरेको थियो। एकीकृत भएका थियौँ।’’
उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा औपचारिक प्रस्ताव नै सरकार पक्षका पार्टीले नगरेको बताउनुभयो।