काठमाडौं, पुस २१ गते। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनमतलाई सम्मान गर्दै सरकारको साझा प्रतिबद्धता सार्वजनिक हुने बताउनुभएको छ।
बिहीबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले विभिन्न सिद्धान्त र आदर्शमा विश्वास गर्ने पार्टीहरू सरकारमा भएको तर जनमतलाई सम्मान गर्दै साझा कार्यक्रमलाई एकरूपता दिइने बताउनुभयो।
गृहमन्त्री लामिछानेले भन्नुभयो, “अहिले सरकार जनमत अनुसार राजनीतिक दललाई जुन मत प्राप्त भएको छ, त्यो मत अनुसार सरकार बनेकाले राजनीतिक आस्था फरक छन्। आम नागरिकलाई सेवा दिन आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्दछ। आ–आफ्नो आदर्श बोकेर जनमतलाई कदर गरेका छौँ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका मन्त्री लामिछाने भ्रष्टाचार न्यूनीकरणका लागि विशेष पहल गर्नुपर्ने, नागरिकको सेवा प्रवाह चुस्तदुरुस्त, किसानलाई सहज मल उपलब्धता लगायतका विभिन्न कार्यक्रमका लागि दीर्घकालीन वा अल्पकालीन अवधारणा एवम् योजनामा जोड दिइएको बताउनुभयो।
गएको निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसकेकाले जनमतको कदर अनुसार स्वास्थ्य, गुणस्तरीय शिक्षा, आम नागरिकले सुख पाउने, सरकारी सेवा झन्झटिलो नबनाउने लगायत डेलिभरीमा सरकारको ध्यान गएको उहाँले उल्लेख गर्नुभयो।