नवीन शिशिर विक
बागलुङ, पुस २१ गते । बागलुङको दक्षिण भेग हुँदै गुल्मीको शान्तिपुर जोड्ने सडक सञ्जाल स्तरवृद्धिको काम तीव्र गतिमा अघि बढेको छ । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर अन्तर्गत जैमिनी–१० राङ्खानीदेखि बरेङ–१ चित्रेसम्मको सडक स्तरोन्नती तथा कालोपत्रेको काम भैरहेको हो ।सडक चौडा पार्ने, नाली निर्माण, सडक संरचना तयार गर्ने तथा कठिन क्षेत्रमा ढलानको काम अघि बढेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत ११ किमी खण्डमा काम भैरहेको हो । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडक अन्तर्गत जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि वडा नं. १० को देवधारासम्मको दश किमीखण्ड पाँच वर्षअघिदेखि निर्माणाधीन छ । यो खण्ड अलपत्र रहेकाले स्थानीय देवलधारादेखि चित्रेसम्मको खण्डमा कामै नहुने आँकलन गरेका थिए ।
यो सडकमा २०७८ असारमा सम्झौता भएर दुई बर्षमा कालोपत्रेको काम सक्नेगरी सडक स्तरोन्नतिको जिम्मेबारी पाएको निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ । सडक फराकिलो, पर्खाल, नाली बनाउने, पानी कटाउनका लागि बनाउनुपर्ने संरचना बनाउने काम सकिएको निर्माण कम्पनी रौताहा खानी धुलिखेल जेभी कन्ट्रक्सनका साइड इन्चार्ज सञ्जय भट्टले बताउनुभयो ।
‘‘अहिले धमाधम ढलानको काम भैरहेको छ, मौसमले साथ नदिएकाले कालोपत्रेका लागि समय पर्खिरहेका छौं’’ भट्टले भन्नुभयो,– ‘‘अवरोध नभए निर्धारित समयमा काम सकिन्छ ।’’ २०८० को असार मसान्तसम्म काम सक्नेगरी सम्झौता भएको थियो । बरेङलाई सदरमुकाम र प्रदेश राजधानीसँग जोड्ने छोटो दूरीको सडक भएकाले समयमा निर्माणको काम सक्न निर्माण कम्पनीलाई दबाब छ ।
२०५४ सालमा नक्साङ्कन गरिएको यो सडकको १५ वर्षअघि ट्याक खुलेको थियो । कुश्मीशेरा, देवलधारा १० किमी खण्डको स्तरोन्नति तथा कालोपत्रेको काम पटक पटक म्याद थप्दासमेत ३५ प्रतिशत काम मात्रै सकिएको छ । म्याद थप भएकाले यो खण्ड र देवलधारादेखि नम्दुक हुँदै चित्रेखण्ड तयार हुँदा बरेङलाई सहज हुने गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो ।
यो खण्डमा एक ठाउँमा सडक फराकिलो बनाउनका लागि स्थानीयले जग्गामा अवरोध गरेका छन् भने जैमिनी नगरपालिका–१० को नाम्दुकमा घरगोठ लगायतका संरचना भत्काउन स्थानीयले आनाकानी गरेको निर्माण कम्पनीको भनाइ छ ।
११ किलोमिटर यो खण्डमा ४.५ किलोमिटर ढलान र बाँकी सबै कालोपत्रेको स्टिमेट रहेको पूर्वाधार कार्यालय बागलुङका इञ्जिनियर कृष्ण गौतमले बताउनुभयो । गण्डकी प्रदेश सरकारको कुल ३४ करोड २५ लाख ३ हजार ६९६ रुपियाँको लागतमा यो सडक कालोपत्रे र ढलान हुँदैछ । हालसम्म दश किलोमिटरमा चौडा गर्ने काम सकिएको, दश किलोमिटरमा नाली बनाउने काम सकिएको छ ।
दुई किलोमिटर सडक ढलान भैसकेको र अन्य पूर्वाधारका काम भैरहेको गौतमले बताउनुभयो । चित्रेदेखि सुदाला र पालिका मुकामदेखि गुल्मी शान्तिपुरसम्मको सडक कालोपत्रेका लागि पहल भइरहेको छ ।