बाबुराम शर्मा
दोलखा, पुस २१ गते । महिलाहरूलाई सीप सिकाइमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरिएको क्रिस्टलको गहना बनाउने चारदिने तालिम सम्पन्न भएको छ ।
सुदृढ जोखिम व्यवस्थापन तथा समावेशी आर्थिक सामाजिक विकासमार्फत समुदायको उत्थानशीलता अभिवृद्धि परियोजना अन्तर्गत परियोजना एएसबी जर्मन, रिड नेपाल र गौरीशङ्कर सामुदायिक पुस्तकालयको साझेदारीमा सञ्चालित तालिम सम्पन्न भएको पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । पुस्तकालयसँग समुदायलाई जोड्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा पुस्तकालयले पुलको रूपमा पनि काम गरिरहेको छ ।
तालिममा ३० जनाको सहभागिता थियो । उहाँहरूलाई अर्चना अधिकारीले प्रशिक्षण दिनुभएको थियो । तालिम समापन कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सीप सिक्नु र त्यसको उपयोग गर्नु ठूलो कुरा रहेको बताउँदै महिलाहरूको सशक्तीकरणका लागि नगरपालिका साथमा रहेको उल्लेख गर्नुभयो ।