• ८ पुस २०८१, सोमबार

दुर्घटनाग्रस्त क्षेत्र बन्यो चन्द्रनिगाहपुर चोक

blog

यादवराज पुरी 

रौतहट, पुस २१ गते । निर्माण सम्पन्न बसपार्क प्रयोगमा नआउँदा पूर्व–पश्चिम राजमार्ग र गौर–चन्द्रनिगाहपुर मार्गको चन्द्रनिगाहपुर चोक दुर्घटनाग्रस्त क्षेत्र बनेको छ। राजमार्गमा चलाइने यात्रुवाहक बस, मालवाहक सवारीलगायत अन्य सवारीको जथाभाबी पार्किङ गरिँदा चोक छेउको सडक साँघुरो बनेर दुर्घटनाग्रस्त क्षेत्र बनेको हो। 

सदरमुकाम गौरबाट बाहिरिने र भित्रिने बसका लागि स्थानीयको सहयोगमा निर्माण गरिएको चन्द्रपुर–४, टेकान बसपार्कमा बस पार्किङ नगरी चोकको दायाँबायाँ रोकेर यात्री चढाउने र ओराल्ने गर्दा पनि दुर्घटनाको जोखिम उच्च रहेको जनगुनासो छ। सडक मिचेरै सडक छेउमा गरिने व्यापार पनि दुर्घटनाको कारक बनेको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भएलगतै पूर्व–पश्चिम राजमार्ग र गौर–चन्द्रनिगाहपुर मार्गमा सडक विस्तार थालिएको थियो। त्यसले निरन्तरता पाउन नसक्दा व्यापारीले सडक च्यापेरै व्यापार गरिरहेका छन्। सडक साँघुरिएको छ। दोहोरो सवारी कुद्ने सडकमा एकोहोरो कुद्न पनि समस्या रहेको बस चालक बताउँछन्। 

टेकान बसपार्क सञ्चालनमा आउन नसके उक्त सबै समस्या समाधान हुने नगरवासी बताउँछन् तर पालिकाले बसपार्क सञ्चालका लागि कुनै चासो नदेखाएको चन्द्रपुर–४ का समाजसेवी प्रताप लामाको गुनासो छ। बन्द रहेको बसपार्क पुनः सञ्चालनमा ल्याउन र ‘बस होल्डिङ सेन्टर’ निर्माण गर्न पहल गर्ने भनी पालिका प्रमुख सञ्जय काफ्लेले गर्नुभएको प्रतिबद्धता कार्यान्वय हुन नसक्दा उहाँ आलोचित बन्नुभएको छ।  

बाजागाजा, बसको लावालस्कर र तामझामसहित २०६९ सालमा निर्माण सम्पन्न उक्त बसपार्क झन्डै नौ वर्षदेखि प्रयोगविहीन छ। चन्द्रनिगाहपुर चोकमा जथाभाबी बस रोक्ने गरिएको छ। जथाभाबी सवारी रोकिँदा एकातिर दुर्घटनाको सम्भावना बढेको छ भने अर्कोतिर सडक साँघुरो भई स्थानीय, पैदलयात्री र व्यापारीलाई समेत ठूलो समस्या परेको छ। 

बसपार्क सञ्चालनमा नआउँदा परेको समस्याका बारेमा इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएको छ। रौतहट जिल्ला ट्राफिक प्रमुख विमला कठायत भन्नुहुन्छ, “बसपार्क सञ्चालनमा आए राजमार्गमा चाप कम भई दुर्घटनाको सम्भावना न्यून हुन्छ। सडक सुधारका लागि स्थानीय निकायमा छलफल गरी सुधारका निर्णयसमेत भएको छ।  नगरपालिकाले यथाशीघ्र कार्यान्वयन गर्ने आश्वासन दिएको छ।”