• ८ पुस २०८१, सोमबार

जस्तापातामुक्त हुने भए विद्यालय

blog

जीवछ यादव 

लहान, पुस २१ गते । जस्तापाताले छाएका विद्यालय भवन गर्मी र जाडो दुवै मौसममा उपयोगी नदेखिएकाले जस्तापातामुक्त विद्यालय भवन निर्माण आवश्यक भएको आवाज उठ्न थालेको छ। 

तराई–मधेशका जिल्लाहरूमा रहेका ९० प्रतिशतभन्दा बढी विद्यालय भवन जस्तापाताले छाइएको छ। जस्तापाताले छाएको भवनमा गर्मी महिनामा खपिनसक्ने गर्मी र शीतलहर आएपछि चिसोले टिक्न गाह्रो हुने गरेको छ। 

कुनै बेला फुसको घरमा सञ्चालित सामुदायिक विद्यालय वैदेशिक सहयोगमा पक्की र जस्तापाताले छाएको भवन निर्माण भएका हुन्। अब तीनै तहको सरकारले शिक्षामा लगानी गरेर जस्तापातामुक्त भवन निर्माणको लागि बजेट विनियोजन गर्नुपर्ने वरिष्ठ पत्रकार तथा उपप्रध्यापक विजयप्रसाद मिश्रले बताउनुभयो। 

उहाँले लहान नगरपालिकाको सामुदायिक विद्यालयको भौतिक र शैक्षिक अवस्था सबल बनाउनका लागि लहान नगरपालिकालाई बुझाएको ५० बुँदे सुझावमा लहानका ५९ वटै सामुदायिक विद्यालयलाई जस्तापातामुक्त बनाउन सुझाव दिनुभएको छ।  अहिले सामुदायिक विद्यालयका भवन व्यस्थित हुँदै जान थालेको लहान–१५ स्थित सगरमाथा माध्यमिक विद्यालयका प्रधानाध्यापक दोस्तबहादुर भट्टराइले बताउनुभयो। उहाँले लहान नगरपालिकाको सहयोगमा आफूले पढाउने विद्यालयमा जस्तापातामुक्त भवन निर्माण कार्यअघि बढिसकेको जानकारी दिनुभयो। 

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले सबैभन्दा बढी चार करोड पचास लाख बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेर शैक्षिक सुधारका लागि १३५ जना स्वयंसेवी शिक्षक भर्ना गरिसकेको बताउनुभयो। पुसको नगर सभाबाट थप दुई करोड विनियोजन गरी सामुदायिक विद्यालयको पर्खाल निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “राष्ट्रपति शैक्षिक कार्यक्रमअन्तर्गत यस वर्ष छवटा विद्यालय जस्तापातामुक्त बनाउन लागेका छाैँ। पाँच वर्षमा नगरपालिकाका ५९ वटै विद्यालय जस्तापातामुक्त बनाउने अभियानमा छौँ।” 

सिरहा जिल्लाको १७ वटै पालिकामा रहेका सामुदायिक विद्यालयको पक्की र व्यवस्थित भवन निर्माण कार्यअन्तर्गत जस्तापातामुक्त विद्यालय भवन निर्माणका लागि समन्वय गर्न सामुहिक प्रयासमा जुटिसकेको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेशकुमार महतोले विश्वास व्यक्त गर्नुभयो।