• ८ पुस २०८१, सोमबार

गँड्यौला मलबाट मनग्गे आम्दानी

blog

विजयकुमार साह 

ढल्केबर, पुस २१ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका ५५ वर्षीय किसान रामपुकार यादवले गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ। व्यवसायिक रूपमा गँड्यौला मलको उत्पादन गर्न थालेपछि उहाँले मनग्गे आम्दानी गर्न थाल्नुभएको हो। 

यादवले सुरुमा आफ्नै खेतबारीमा प्रयोग गर्न मात्र गँड्यौला मल उत्पादन सुरु गर्नुभएको थियो। विस्तारै वरिपरि गाउँका किसानले यसको महत्त्व बुझेर खरिद गर्न आउन थालेपछि उहाँले व्यवसायिक रूपमै गँड्यौला मल उत्पादन सुरु गर्नुभयो। 

तीन वर्षअघि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले वीरेन्द्रबजारमा गँड्यौला मल बनाउने तालिम सञ्चालन गरेको थियो। यादवले सोही तालिमबाट गँड्यौला मल बनाउने विधि सिक्नुभयो। तालिमका आयोजकले नै निःशुल्क उपलब्ध गराएको सात किलो गँड्यौला र उपकरणको मद्दतले उहाँले मल उत्पादन सुरु गर्नुभयो। 

पहिलो वर्ष रासायनिक मलको विकल्पका रूपमा गँड्यौला मलको प्रयोग गर्दा उत्पादन राम्रो भयो। आफ्नो दुई बिघा जमिनमा धान, गहुँ, उखु र तरकारी खेतीमा गँड्यौला मल मात्रै प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेर अन्य किसानले पनि गँड्यौला मलको प्रयोग गर्न थालेको यादवले बताउनुभयो। अन्य किसानले गँड्यौला मल प्रयोग गर्न थालेसँगै मलको बिक्री बढेपछि ‘सौरभ गँड्यौला मल उद्योग’ दर्ता गरेर मल उत्पादन गर्न थालेको यादवको कथन छ। गँड्यौला मल मागअनुसार उत्पादन गर्न नसकिएको उहाँ बताउनुहुन्छ। 

उहाँले १२ वटा ‘भर्मि बेड’बाट वार्षिक ४८ क्वीन्टल मल उत्पादन भइरहेको बताउँदै यादवले प्रतिकिलो ३० देखि ३५ रुपियाँमा बिक्री हुने गरेको जानकारी दिनुभयो। “मागबमोजिम मल उत्पादन गर्न ‘भर्मी बेड’को सङ्ख्या बढाउने सोचमा छु,” उहाँले भन्नुभयो। यादवले सुनाउनुभयो “सुरुमा एउटा भर्मी बेडबाट मल उत्पादन थालेँ। अहिले त्यसलाई विस्तार गरेर १२ वटा भर्मी बेडबाट मल उत्पादन गरिरहेको छु। सुरुको दिनमा उत्पादित मल बिक्री गर्न समस्या थियो तर अब यसको महत्त्व धेरैलाई थाहा भएपछि गाउँघरका मात्र नभएर टाढा–टाढाका किसान मल खरिद गर्न यहाँ आउने गरेका छन्।” 

गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्दै आएको बताउँदै उहाँले माटोको उर्वराशक्ति बढाउन तथा कम लागतमा उत्पादनमा वृद्धि ल्याउनका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका निम्ति गँड्यौला मलको प्रयोग गर्नुपर्ने बताउनुभयो। कतिपय त मल बनाउने विधि सिकाइदिन समेत भनिरहेको बताउँदै उहाँले नजिकै रहेको रामवृक्ष यादव बाली विज्ञान प्राविधिक शिक्षालयका करिब २५ जना विद्यार्थी सिक्न आउने गरेको बताउनुभयो। 

उहाँलाई गँड्यौला मल उत्पादनप्रतिको लगाव देखेर प्रोत्साहन स्वरूप सामुदायिक सुधार केन्द्र धनुषाले ५० हजार रुपियाँ मूल्य बराबरको एक हजार पाँच सय बोरा र बोरा सिलाउने मेसिन उपलब्ध गराएको छ।  सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जयकुमार साहले खेतबारीमा रासायनिक मल तथा बिषादीको प्रयोगमा निरुत्साहित गर्दै अर्गानिक कम्पोस्ट मल प्रयोग गर्न किसानलाई प्रेरित गर्दै आएकाले प्रोत्साहन स्वरूप यादवलाई सो सामाग्री उपलब्ध गराएको बताउनुभयो।