• १२ मंसिर २०८१, बुधबार

लामाबगर–लप्ची पदमार्ग मर्मत सुरु

blog

दोलखा समाचारदाता

दोलखा, पुस २१ गते । दोलखाको बिगु गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय हिसाबले प्रसिद्ध लप्ची गुम्बा पुग्ने लामाबगर–लप्ची पदमार्ग मर्मत गर्न लागिएको छ । 

लप्ची क्षेत्रमा निर्माण गर्न लागेको लप्ची हाइड्रोपावरले धेरै वर्षअघि निर्माण गरिदिएको पदमार्ग जीर्ण भएपछि मर्मत गर्न लागिएको स्थानीय एवं हिमआरोही लीलाबहादुर बस्नेतले जानकारी दिनुभयो । 

जिल्लाकै प्रसिद्ध पर्यटकीय रुट भए पनि सम्बन्धित निकायको खासै चासो नहुँदा यहाँको पदमार्ग भने जोखिममुक्त हुन सकेको छैन । यहाँबाट हरेक वर्ष सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक हिँड्ने गरेका छन् । 

जोखिम मोलेरै भए पनि अर्को विकल्प नहुँदा स्थानीय पनि यही बाटो भएर दैनिक यात्रा गर्न बाध्य रहेका पहलकर्ता हिमआरोही बस्नेतले बताउनुभयो । बाटोकै कारण पदयात्रीले ज्यानसमेत गुमाउनुपरेको विगतको तितो यथार्थ रहेको छ । 

गाउँ, ठाउँ र धार्मिक हिसाबले प्रसिद्ध लप्ची गुम्बा दोलखाको अर्को धार्मिक सम्पदा हो । उहाँले यसको प्रवद्र्धन गर्न यहाँका पर्यटन व्यवसायी, सरोकारवाला निकाय र पर्यटनसँग सरोकार राख्ने विभाग र बोर्डले खासै चासो नदिएको गुनासो गर्नुभयो ।

बाटो निर्माणसँगै आवतजावत गर्न सहज हुने बताउँदै उहाँले भन्नुभयो, गाउँपालिकाले यो बाटो निर्माणमा ध्यान दिनु आवश्यक छ । सडक, बिजुली र विद्यालयसमेत नहुँदा लप्चीवासीले बालबच्चा काठमाडौँ लगेर पढाउनु परेको छ ।