हुम्ला समाचारदाता
हुम्ला, पुस १९ गते । खार्पुनाथ गाउँपालिका–१, लालीबगर क्षेत्रको लोचाकुनामा बनाइएको झोलुङ्गे पुलमा क्षति पुगेको छ । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने बोक्चे गौँडादेखि लालीबगर खण्डको सडक निर्माणका क्रममा कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा क्षति पुगेको हो ।
गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंहले लोचाकुनाको कर्णाली नदीमाथि निर्माण भएको झोलुङ्गे पुलमा पूर्ण रूपमा क्षति पुगेको बताउनुभयो । उहाँले बोक्चे गौँडादेखि लालीबगर क्षेत्रको कर्णाली कोरिडोरको सडक निर्माण गर्ने क्रममा चट्टानी भीर विस्फोट गराउँदा पुलको एकातर्फ पूर्ण क्षति भएको जानकारी दिनुभयो । पुल भएको स्थानमा अग्लो र कडा चट्टानी भीर रहेको छ । सो भीर विस्फोट गर्ने क्रममा उछिट्टिएका ढुङ्गाले लागेर पुलमा क्षति भएको बताइएको छ । पुलमा क्षति भएपछि बाँकी रहेको पुलको भागका स्टिल पार्टस्हरू पनि निकालेर राखिएको छ । सडक निर्माणका क्रममा क्षति भएको पुलको बाँकी पार्टस् निकालिएपछि हाल सो स्थानमा लट्ठा मात्र झुन्डिएका छन् । उक्त खण्डमा हाल नेपाली सेनाले सडक निर्माण गरिरहेको छ ।
खार्पुनाथ गाउँपालिका–१ का वडाध्यक्ष जयबहादुर शाहीले पुलमा क्षति भएपछि वडा नं. २ र ३ का स्थानीय, पैदल यात्रु र खच्चडलाई हिँड्न कठिन भएको बताउनुभयो । उहाँले आफ्नो वडाबाट छिमेकी वडाका स्वास्थ्य संस्थाहरूको अनुमगन गर्न जाने क्रममा पुल बन्द भएका कारण तीन घण्टा पैदल हिँडेर बोक्चे गौँडाको पुल तरी रायाँ गाउँमा जानु परेको बताउनुभयो । कर्णाली नदीमाथि उक्त स्थानमा पुल नभई नहुने भएकाले समस्या भएको उहाँले बताउनुभयो । पुलमा क्षति भएपछि सो स्थानमा गाउँपालिकाले लगानी गरेर तत्कालका लागि तुइन निर्माण गर्ने तयारी गरिरहेको जनाइएको छ ।