• १२ मंसिर २०८१, बुधबार

खानेपानी आयोजनालाई बजेट अभाव

blog

घोराही समाचारदाता

घोराही, पुस १९ गते । घोराही उपमहानगरपालिका–१६, कपासीमा खानेपानी आयोजना सुरु भएको करिब पाँच वर्ष बित्यो। गाउँगाउँमा खानेपानीको सुविधा पु-याउनका लागि पाँच वर्षअघि डिप बोरिङ गरी ट्याङ्की समेत निर्माण भएको छ तर पाइप विस्तार हुन सकेको छैन। 

सुरुमा केही समय जग्गा विवादका कारण रोकिएको उक्त आयोजना पछिल्लो समय बजेट अभावका कारण अघि बढ्न नसकेको स्थानीय माया खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “पानीका लागि घरअगाडि खानेपानी ट्याङ्की निर्माण हुँदा खुसी लागेको थियो तर वर्षौं भइसक्दा पनि आयोजना पूरा हुन सकेको छैन।” उहाँले भन्नुभयो, पानी नहुँदा इनारबाट पानी तानेर खानुपर्ने बाध्यता छ। त्यो पनि गर्मी दिनमा सुकेपछि समस्या हुन्छ। 

त्यसैगरी लमही नगरपालिका–८, नयाँबस्तीमा पनि खानेपानी आयोजना अलपत्र छ। पूर्वाधार बनेको छ तर पानी वितरण नहुँदा लाखौँको लगानी खेर गएको स्थानीय रमेश चौधरीले बताउनुभयो। “पानीको सारै दुःख छ, भोट भाग्न आएका नेताले पानी ल्याइदिन्छौँ भन्नुहुन्छ तर पछि बिर्सनुहुन्छ,” उहाँले भन्नुभयो, “घरछेउमा बसेको पानी ट्याङ्की हेरेर दिन बित्छ।” यी दुईवटा सामान्य उदाहरण मात्रै हुन्। जिल्लामा निर्माण सुरु भएका आयोजनामध्ये धेरै आयोजनाले बजेटको समस्या छ। बजेट नहुँदा धेरै आयोजना समयमै पूरा हुन नसकेका छैनन्। 

आयोजना छिटो सम्पन्न गर्नका लागि विभिन्न पहल भए पनि बजेट अभावका कारण धेरै आयोजना अघि बढ्न नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय घोराहीका इन्जिनियर वेदप्रसाद आचार्यले जानकारी दिनुभएको छ। खानेपानी डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा क्रमागत योजनाअन्तर्गत २४० खानेपानीका ठूला साना आयोजना छन्। यीमध्ये ५१ वटा आयोजनाको काम पछिल्लो समय ठप्प छ। एउटा आयोजनामा जम्मा ५० हजारका दरले बजेट परेकाले ती आयोजनाको कुनै पनि काम अघि बढाउन नसकिएको इन्जिनियर आचार्यले जानकारी दिनुभयो।

उहाँका अनुसार जिल्लामा आंशिक रूपमा खानेपानी सञ्चालन भएको तर उपभोक्तालाई हस्तान्तरण हुन बाँकी ७५ वटा योजना छन्। यो वर्ष ३१ वटा मात्रै खानेपानी आयोजनाको काम भइरहेको छ। करिब ५१ वटा खानेपानी आयोजना बजेट अभावका कारण काम गर्न नसकिएको सो कार्यालयले जनाएको छ।