• १३ असोज २०८१, आइतबार

दैलेखमा पेट्रोलियम अन्वेषण, पूर्वाधारमै ढिलाइ

blog

कमल शर्मा 

दैलेख, पुस १७ गते । सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य ढिलाइ भएको छ। कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद पुनः थप गरिए पनि सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण काम सुरु हुन नसकेको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ। 

खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद थप गरिएको भए पनि अन्वेषण गर्न आवश्यक सामग्री ल्याउन सडक पूर्वाधार नभएका कारण ढिलाइ भएको बताउनुभयो। उहाँले चीनबाट भारत हुँदै नेपालगञ्जसम्म सामग्री आउने र त्यहाँबाट दैलेखमा पु¥याउन सडक पूर्वाधार समस्या भएको जानकारी दिनुभयो। 

विभागले स्थलगत अध्ययन गरेर फाइल मन्त्रालयमा बुझाएको छ । उहाँले भन्नुभयो, “चीनबाट भारत हुँदै नेपालगञ्ज नाकाबाट भित्रिने ड्रिलिङ उपकरण ६ मिटर चौडा, ६० टन तौल र १५ मिटर लामो हुने भएकाले सडकका मोडहरू स्तरोन्नति गर्नुपर्ने अवस्था छ। चिनियाँ पक्ष छिटो नेपाल आएर ड्रिलिङ गर्न उत्साही छ।” उहाँले भन्नुभयो, “हामी सडक स्तरोन्नति र जग्गा अधिग्रहणको प्रक्रियामा अघि बढिसकेका छौँ।” 

त्रिपाठीका अनुसार दैलेखको भैरवी गाउँपालिका–१, को करिब ४५ रोपनी जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको छ। सडक मार्ग स्तरोन्नतिको काम भने सडक विभागले थालिसकेको छ। 

अन्वेषणका लागि तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर–दक्षिण दिशामा खनिएका १० वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएपछि त्यसको वास्तविक अध्ययनपश्चात् पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम अघिल्लो असोज महिनामा गर्ने तयारी भए पनि कोरोनाको तेस्रो लहरका कारण काम प्रभावित बनेको थियो। 

डाक्टर त्रिपाठीले भन्नुभयो, “चीनको प्राविधिक टोलीले सिस्मिक सर्भे सम्पन्न गरी त्यसपश्चात् अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक विश्लेषणअन्तर्गत भण्डारको आकार, प्रकार आयतन, व्यापारिक रूपमा उत्पादन गर्नसकिने पेट्रोलियमको मात्रा आदिको विश्लेषण गरी प्रमाणित भण्डार व्यापारिक प्रयोजनका लागि उपयुक्त छ वा छैन भन्ने जानकारीका लागि मुख्य ड्रिलिङ गर्नुपर्ने हुन्छ। 

चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको जानकारी गराएको र जमिनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्न सक्ने भौगर्भिक संरचना हुन सक्ने यथेष्ट प्रमाण सतही अन्वेषण अनुसन्धानबाट पनि देखिएको थियो। भू–गर्भविद् डा. त्रिपाठीका अनुसार सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक चट्टान र त्यसलाई भण्डार गर्नसक्ने खालका चट्टान, पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाहरूले दैलेखमा पेट्रोलियमको भण्डार हुन सक्ने बलियो सम्भावना छ। 

अन्वेषणका लागि पेट्रोलियम जिओलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरी महìवपूर्ण मानिएको सेस्मिक सर्भे हो। यो कार्यअन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरू जमिनको सतहमुनिको धेरै गहिराइसम्म पठाएर सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गहरूलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड राख्ने र रेकर्ड गरिएका विभिन्न गहिराइबाट परावर्तन भई आएका तरङ्गहरूको प्रशोधन गर्ने, प्रशोधनबाट तयार भएका तरङ्गहरूको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुन सक्ने भौगर्भिक संरचना पहिचान गर्ने कार्य शतप्रतिशत सम्पन्न भएको छ। 

पेट्रोलियम पदार्थको अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच २०१९ फेबु्रअरी २८ मा सम्झौता भएको र सम्झौताको अवधि सन् २०२२ फेब्रुअरी २८ मा सकिएसँगै २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दुई वर्ष म्याद थप गरेको थियो।  जिल्लाको मुख्यतया दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डाबिन्द्रासैनी नगरपालिका, डुँगेश्वर गाउँपालिका, नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकाका केही भू–भाग समेटेर १० वटा सिस्मिक लाइनहरूमा जम्मा दुई सय लाइन किमि सर्भे गर्न चार सय वर्ग किमी भूभाग समेटेर सर्भे गरिएको थियो।