कपिल ज्ञवाली
सिद्धार्थनगर, पुस १६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दाबी गर्नुभएको छ । अहिले कांग्रेस सरकारमा नहुँदैमा आत्तिनु पर्ने कुनै आवश्यकता नरहेको उहाँले बताउनुभयो ।
अन्तर्राष्ट्रिय प्रभाव र दवावका कारण कांग्रेस अहिले सत्ता बाहिर पुगेको उहाँको भनाइ छ । वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीको छैठौं साधारणसभा तथा चौथो अधिवेशन एवम् ४६ औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजित कार्यक्रममा नेता खाणले पार्टीलाई सुदुढ र सक्षम राजनीतिक शक्तिमा कसरी रुपानन्तरण गर्ने भनेर लाग्नुपर्ने बताउनुभयो ।
‘सरकारमा नहँुदैमा आत्तिनु हुदैन, करेक्सन गर्नुपर्छ । नीति र सिद्धान्तमा केही कमी छैन, रणनीतिगत हिसाबले कहाँनिर चुक्यौं समीक्षा गरेर अघि बढ्नुपर्छ’ उहाँले भन्नुभयो । कांग्रेस राजनीतिक पार्टीको रुपमा मात्रै नभइ नेपालको एउटा लोकतान्त्रिक शक्तिको रुपमा यसको भूमिका रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “कांग्रेसले केन्द्र सरकार, प्रदेश सरकार, र स्थानीय सरकार सञ्चालन गर्न कोशिस गर्नुपर्छ । सत्तामा जान पहुँच स्थापित गर्ने काम त जारी नै राख्नुपर्छ” उहाँले भन्नुभयो ।
कांग्रेस मूलभूत सिद्धान्त, नीति, रणनीति, दृष्टिकोणका साथमा सरकार सञ्चालन गर्ने रणनीतिमा लागि रहने उहाँको भनाइ छ ।
मुलुकलाई निकास दिएर संविधान बचाउन, राष्ट्रियतालाई समर्धन गर्दै लोकतान्त्रिक मुल्य पद्धतिलाई झन् बलियोे बनाउँदै जनताको हक अधिकारलाई अगाडि बढाउन कांग्रेसले अरु दलसँग हातेमालो गरेको उहाँले स्मरण गर्नुभयो ।
कांग्रेस कमजोर हुँदा लोकतन्त्रिक पद्धति नै कमजोर हुने भन्नै उहाँले लोकतन्त्र नै कमजोरबन्दा सिद्धान्त पनि कमजोर बन्ने धारणा राख्नुभयो । अब शक्ति सञ्चय, शक्ति सन्तुलन गर्ने लोकतान्त्रिक मुल्य पद्धतिको अबलम्बन गर्ने उहाँको भनाइ छ ।
सो अवसरमा नेता खाणले वीपी बाटीकामा बनाइएको बीपी कोइरालाको अर्धकदको शालिम समेत अनावरण गर्नुभयो । सहमति, सहकार्य र एकताका लागि आफु सधैभरी उभिएको भन्दै उहाँले आफ्नो निर्वाचन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको पनि चलखेल रहेर चुनाव हराइएको टिप्पणी गर्नुभयो ।