धर्बेन्द्र झा
धनुषा, पुस १५ गते । मधेश प्रदेशका प्रदेशसभा सदस्यहरुले शुक्रबार प्रदेशसभामा शपथ लिनुभएको छ । प्रदेशसभा सचिवालय मधेश प्रदेशले प्रदेशसभाको हलमा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले उहाँहरुलाई शपथ ग्रहण गराउनुभयो ।
१०७ सदस्यीय रहेको मधेश प्रदेशसभा मा १०४ जना सदस्यले आज शपथ ग्रहण गरेको प्रदेशसभा सचिवालयका निमित सचिव रंजित यादवले जानकारी दिनुभयो । १०४ जनामध्ये ४९ जना सदस्यले आफ्नो मातृभाषामा र ५५ जना सदस्यले नेपाली भाषामा शपथ ग्रहण गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । मैथिली, भोजपुरी, थारु, उर्दूसहितको मातृभाषामा सांसदहरुले शपथ लिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का दुई जना प्रदेशसभा सदस्य माला कर्ण र रैजी हैदरको विषयमा अदालतमा मुद्दा दायर गरिएकाले शपथ ग्रहण कार्यक्रममा सहभागी नगराइएको यादवले जानकारी दिनुभयो ।
शपथग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै सांसदहरुले अबको पाँच वर्षमा संविधान र सङ्घीयताको सफल कार्यान्वयन र जनताको समस्या सम्बोधनमा ध्यान दिने बताउनुभयो । प्रदेशसभाको पहिलो बेठक पुस १८ गते १ वजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।