• ४ जेठ २०८१, शुक्रबार

कपिलवस्तुको दुई सुरक्षित खानेपानीयुक्त वडा घोषणा

blog

जानु पाण्डे

कपिलवस्तु, पुस १५ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकाको दुई वडा सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको छ । लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रीना नेपालले पालिकाको वडा १ र ४ लाई सुरक्षित खानेपानी वडा घोषणा गर्नुभयो । 

सुरक्षित पिउने पानी पाउनु पर्ने सबै नागरिकको नैसर्गिक अधिकार भएको उहाँले बताउनुभयो । प्रदेश सरकारले सबै नागरिकलाई स्वच्छ तथा सुरक्षित खानेपानीको दायरामा ल्याउने लक्ष्य रहेकाले एक घर एक धाराको नीतिअनुसार प्रदेश सरकारले योजना बनाएर काम गरेको दाबी गर्नुभयो । 

बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भएको छ । त्यहाँका २ हजार ५५७  घरधुरी सुरक्षित खानेपानीको दायरा आएको बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले बताउनुभयो । कार्यक्रममा युनिसेफ नेपालका वास अधिकृत सुरेन्द्र बाबु ढकालले सुरक्षित खानेपानी र सरसफाई नपाएकै कारण नेपालमा प्रत्येक वर्ष ५ वर्ष मुनिका १२ सय जना बालबालिकाको ज्यान जानेगरेको चर्चा गर्नुभयो । 

सुरक्षित खानेपानीको प्रदान गर्न खानेपानी आयोजनाले दैनिक रुपमा चेकजाँच गर्ने बाणगंगा खानेपानीका अध्यक्ष विश्व कार्कीले बताउनुभयो । ट्याङ्कीबाट आउने पानीमा ई कोली फर्म, धमिलोपन, पीएच परीक्षण किटको सहायाताले चेकजाँच गरिदैआएको छ । समय समयमा उपभोक्ताको धाराबाट आउने पानीको नमुना संंकलन गरी चेकजाँच हुने बताइएको छ ।