• ४ जेठ २०८१, शुक्रबार

सात प्रतिशतले बढ्यो धान उत्पादन

blog

काठमाडौँ, पुस १५ गते । यो वर्ष मुलुकभर धान उत्पादन झन्डै ७ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको बिहीबार सार्वजनिक गरेको हो । यो वर्ष धानको उत्पादन बढे पनि धान खेती गरिएको क्षेत्र भने २ प्रतिशतले घटेर १४ लाख चार हजार ७८९ हेक्टर रहको जनाइएको छ । 

गत वर्ष धान थन्क्याउने बेला आएको बेमौसमी वर्षाका कारण ८ दशमलव ७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले यो वर्ष धानको उत्पादन ७ प्रतिशतको हाराहारीमा बढेको जानकारी दिनुभयो । मौसम औसत रहेको, तराईका जिल्लामा रासायनिक मलको उपलब्धता, उन्नत र हाइब्रिड बीउ प्रयोगमा भएको वृद्धि तथा स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँच वृद्धि भएकाले उत्पादनमा बढेको बताउनुभयो । गत वर्षको तुलनामा धानको उत्पादन बढे पनि विगतका वर्षको तुलनामा सामान्य अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । 

गत वर्षको तुलनामा यो वर्ष सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३३ दशमलव ९७ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । गत वर्ष बेमौसमी वर्षका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा उल्लेख्य क्षति भई उत्पादनमा कमी आएको थियो र यस वर्ष सामान्यीकरण हुँदा उल्लेख्य वृद्धि भएको मन्त्रालयले जनाएको छ । 

यो वर्ष लुम्बिनी प्रदेशमा १५ दशमलव ७२ प्रतिशत र प्रदेश १ मा ५ दशमलव ६० प्रतिशतले धान उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यस्तै कर्णाली प्रदेशमा ३ दशमलव ४६ प्रतिशत, मधेशमा १ दशमलव ६१ प्रतिशत, बागमतीमा १ दशमलव २२ प्रतिशत उत्पादन बढेको र गण्डकी प्रदेशमा २ दशमलव ६४ प्रतिशतले उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।

यो वर्ष सबैभन्दा धेरै मधेश प्रदेश, प्रदेश १ र सुदूरपश्चिमा धान उत्पादन बढेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा १३ लाख ३६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै मधेश प्रदेशमा १३ लाख ८८ हजार ८४१ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ११ लाख ५१ हजार ३१३ मेट्रिक टन, सुदूरपश्चिममा पाँच लाख ८९ हजार २२१ मेट्रिक टन, बागमती प्रदेशमा पाँच लाख ४४६ मेट्रिक टन, गण्डकी प्रदेशमा तीन लाख ९१ हजार १२१ मेट्रिक टन र सबैभन्दा कम कर्णाली प्रदेशमा एक लाख २९ हजार ४७३ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।  

आव २०७८/७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टरमा धान रोपाइँ भएकामा धान उत्पादन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार मेट्रिक टन भएको थियो । गत वर्ष ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २३.९५ प्रतिशत रहेको छ । कृषिको वृद्धिदर २ दशमलव २४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (एजीडीपी)मा धानको योगदान १३ प्रतिशत र धानको कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशत योगदान रहेको मन्त्रालयले जनाएको छ । जीडीपीमा धानको योगदान घट्दै गएको छ । 

पाँच लाख मेट्रिक टन चामल अपुग

खाद्यान्न (चामल, मकै, गहुँ, कोदो र फापर) प्रतिव्यक्ति प्रतिवर्ष करिब १८१ केजी आवश्यक पर्ने गरेकामा यस हिसाबले चामल उपभोग प्रतिव्यक्ति प्रतिवर्ष १२१ केजी पुग्ने देखिएकामा नेपालमा औसत प्रतिव्यक्ति प्रतिवर्ष करिब १३७ केजी उपभोग भइरहेको मन्त्रालयले जनाएको छ । 

चामलको आवश्यकता वार्षिक ४० लाख मेट्रिक टन रहेकामा ५५ लाख मेट्रिक टन धानबाट ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुने देखिएकाले अझै वार्षिक चार लाख ८० हजार मेट्रिक टन चामल कमी देखिएको मन्त्रालयले जनाएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा १२ अर्ब ६५ करोड रुपियाँ बराबरको दुई लाख ८२ हजार मेट्रिक धान, चामल कनिका आयात भएको छ ।