• १३ असोज २०८१, आइतबार

हाम्रा माग पूरा नभएसम्म सरकारमा जाँदैनौंः सांसद चौधरी

blog

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरी । फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, पुस १३ गते। नागरिक उन्मुक्ति पार्टीले अगाडि सारेको तीन वटा माग पूरा नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने सांसद गङ्गाराम चौधरीले बताउनुभएको छ। 

पार्टीका प्रमुख सचेतकसमेत रहनुभएका उहाँले आफ्नो पार्टीको बटमलाइन तीन वटा माग रहेको उल्लेख गर्नुभयो। 

‘टीकापुर घटनाको सम्बन्धमा लाल आयोगको छानबिन प्रतिवेदन सार्वजनिक, १०३ जनामाथि लगाइएको झुटा मुद्दा खारेजी र रेशम चौधरीसहित सात जना बन्दी जेलमुक्त नभएसम्म सरकारमा जाँदैनौं’, उहाँले भन्नुभयो। 

नागरिक उन्मुक्तिलाई महत्त्वपूर्ण मन्त्रालय दिनेसहित सरकारमा सहभागी हुन ‘अफर’ आइरहे पनि माग पूरा नभएसम्म सरकारमा नजाने उहाँको भनाइ थियो। ‘हाम्रो माग सरकारमा जाने होइन’, उहाँले स्पष्ट पार्नुभयो। पार्टीले अघि सारेका तीन वटा माग पूरा भएमा सङ्घ र प्रदेश दुवै तहको सरकारमा सहभागी हुने उहाँको भनाइ छ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा चार जनाको प्रतिनिधित्व छ। यसैगरी सुदूरपश्चिम प्रदेश सभामा सात जनाको प्रतिनिधित्व छ। सुदूरपश्चिम प्रदेशमा सरकार बनाउनका लागि यो पार्टी निर्णायक देखिएको छ।