बुटवल समाचारदाता
बुटवल, पुस १३ गते । राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ । नापजाँचको काम सकिएकाले जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
पहिलो चरणमा बुटवल उपमहानगरपालिका र रुपन्देहीकै मायादेवी गाउँपालिकाको १८ जनालाई जग्गा प्रमाणपुर्जा वितरण गरेको हो ।
बुटवल वडा नं. १९ का १२ र मायादेवी वडा नं. ८ का छ जनाको परिवारलाई पुर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जानकारी दिनुभयो । यस जिल्लामा करिब एक लाख २० हजार अव्यवस्थित, सुकुम्बासी तथा भूमिहीन रहेका छन् ।
हाल तीन हजार जग्गाधनीको लालपुर्जा तयार भएको छ । बुटवल, देवदह, सैनामैना, कञ्चन, मायादेवी र सिद्धार्थनगरमा नापजाँच सकिएसँगै पुर्जा वितरणको काम पनि अन्तिम चरणमा रहेको अध्यक्ष आचार्यले बताउनुभयो । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापजाँच भएर लालपुर्जा वितरण गर्न सफल भएको बताउनुभयो ।
चुनावअघि नै लालपुर्जा तयार भएको जानकारी दिँदै उहाँले निर्वाचन आचारसंहिताले गर्दा वितरण गर्न नसकिएको र अहिले सुरु भएको बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अव्यवस्थित जग्गाको ब्लक छुट्टाइएको र नापजाँच भएका जग्गाको विधि, प्रक्रिया कानुनअनुसार पुर्जा वितरण गरिएको बताउनुभयो ।