• २३ असार २०८१, आइतबार

आर्सनल र लिभरपुल विजयी

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै आर्सनल र वेस्ट हामका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, १२ पुस । कतार विश्वकप फुटबलका कारण रोकिएको इङ्लिस प्रिमियर लिग फुटबल सोमबारदेखि सुरु भएको छ । सोमबार राति भएको खेलमा शीर्षटोली आर्सनल र लिभरपुलले सहज जित निकालेका छन् ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेस्ट हामलाई ३-१ गोलले हरायो । अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई उसैको मैदानमा ३-१ गोलले नै स्तब्ध बनायो ।

आर्सनलको जितमा बुकायो साका, गाब्रियल मार्टिनेली र इडवार्ड एनकेइटाले गोल गर्नुभयो । वेस्ट हामका सेड बेनरहमाले सान्त्वना गोल गर्नुभयो । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले १५ खेलबाट ४० अङ्क बनाएको छ । पराजित वेस्ट हाम १४ अङ्कसहित १६औं स्थानमा छ । 

यसैगरी लिभुपुललाई जिताउन मोहम्मद सलाह, भर्जिल भान डाइक र स्टेफन बाजसेटिकले गोल गर्नुभयो । एस्टन भिल्लाका ओली वाट्किन्सले सान्त्वना गोल फर्काउनुभयो । 

जितसँगै लिभरपुल छैटौं स्थानमा छ । लिभरपुलले १५ खेलबाट २५ अङ्क बनाएको छ । पराजित एस्टन भिल्ला १८ अङ्कसहित १२औं स्थानमा छ । 

अन्य खेलहरुमा ब्राइटनले साउथह्याम्पटनलाई ३-१, न्युक्यासल युनाइटेडले लेस्टर सिटीलाई ३-०, वल्भ्सले एभर्टनलाई २-१ र फुलहामले क्रिस्टल प्यालेसलाई ३-० गोलले हराएको छ । टोट्टनहाम र ब्रेन्टफर्डले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी