• १९ असोज २०८१, शनिबार

कोल–देउरालीका गुफा ओझेलमा

blog

 रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, पुस १२ गते  । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोल र सिस्ने गाउँपालिका–५, देउरालीमा रहेका गुफाहरू उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्। ऐतिहासिक तथा धार्मिक महìव बोकेका उक्त गुफाहरू रहस्यमय अवस्थामा छन्। 

ती गुफाभित्र विभिन्न आकृतिका आश्चर्यचकित पार्ने मूर्तिहरू रहेका छन्। मूर्तिहरू देखेर गुफामा पुग्ने जो कोही पनि आश्चर्यमा पर्ने गर्छन्। यी गुफाहरू स्थानीय सरकार र सरोकारवालाले ध्यान नदिँदा धार्मिक पर्यटकको रोजाइमा पर्न सकेको छैनन्। 

देउराली र कोलमा रहेका गुफाहरू जिल्लामा बढी चर्चामा छन्। त्यसबाहेक अन्य ठाउँमा पनि धेरै गुफा रहेका छन्। पुथाउत्तरगङ्गा–१२, कोलमा एकै ठाउँमा अनौठा तीन गुफा रहेका छन्। जसलाई मगर भाषामा ‘मि कुङ’ भन्ने गरिन्छ। 

“खाम भाषामा ‘मि’ भनेको मान्छे र ‘कुङ’ भनेको गुफा हो,” स्थानीय गणबहादुर पुनमगरले भन्नुभयो, “दोस्रोको ‘सुन री कुङ’ राखिएको छ।”  ‘सुन री’ भनेको सुनपानी हो। तेस्रो गुफाको नाम चाँदी राखिएको छ। गुफाभित्रको अवस्था र आकृतिका आधारमा स्थानीयले नामकरण गरेको पुनमगरले बताउनुभयो। 

पुथाउत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीमगरले रहस्यमय गुफाको पर्यटन प्रवद्र्धनका लागि पहल भइरहेको बताउनुभयो। नयाँ गुफाको खोजीकार्य र पत्ता लागेका गुफालाई पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले चासो लिएको बताउनुभयो। 

यसैगरी सिस्ने–५ को देउराली गुफाको पनि फरक विशेषता रहेको छ। गुफामा पानी चुहिन्छ। गुफामा पानी चुहेरै विभिन्न आकृति बनेका छन्। उक्त आकृति देवीदेवताको मूर्तिजस्तै छन्। गुफाभित्र महिलाले बच्चा बोकेको, ढिकी कुट्न लागेको, जाँतो पिस्न लागेको र खाना पकाउन लागेको जस्ता थुप्रै आकृति छन्। 

आकर्षक तथा कलात्मक गुफाहरूको प्रचारप्रसार हुन नसक्दा पर्यटकको आगमन हुन नसकेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको भनाइ छ। यद्यपि प्रदेश र सङ्घ सरकारसँग गुफाको संरक्षण र प्रवद्र्धनका लागि काम भइरहेको रेग्मीले जानकारी दिनुभयो।