• १२ मंसिर २०८१, बुधबार

रुपन्देहीका १८ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

blog

छविलाल पाण्डे । 

बुटवल, पुस १२ गते । राष्ट्रिय भूमि आयोग रुपन्देहीले जिल्लाका अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ । बुटवल उपमहानगरपालिका र मायादेवी गाउँपालिकामा सोमवार एक समारोहका वीच जग्गाधनी पुर्जा वितरण गरिएको हो । 

बुटवल उपमहानगरपालिका वडा नं. १९ का १२ जना र मायादेवी गाउँपालिका वडा नंं ८ का ६ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले जानकारी दिनुभयो । 

रुपन्देहीमा करिब १ लाख  २० हजार अव्यवस्थित, सुकुम्वासी तथा भूमिहीन रहेको बताउँदै उहाँले अहिले ३ हजार जग्गाधनीको लालपुर्जा तयार भैसकेको र वितरणको काम थालिने बताउनु भयो । जिल्लाको बुटवल, देव दह, सैन मैना , कञ्चन, मायादेवी र सिद्धार्थनगरमा नाप जाँच सकिएर लालपुर्जा वितरणको अन्तिम चरणमा रहेको उहाँले बताउनु भयो । 

लालपुर्जा तयार भए पनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाइ भइरहेको बताउँदै उहाँले सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने सुझाव दिनुभयो । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापचाँज भएर लालपुर्जा वितरण गर्न सफल भएको बताउनु भयो । 

चुनाव अघि नै लालपुर्जा तयार भएको  बताउँदै अध्यक्ष निरौलाले निर्वाचन आचारसंहिताले गर्दा वितरण गर्न नसकेको र अहिले वितरण गर्न सुरु गरिएको बताउनु भयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अव्यवस्थित जग्गाको ब्लक छुट्टाइएको र नापचाँज भएका जग्गाको विधि, प्रक्रिया कानुन अनुसार लालपुर्जा वितरण गरिएको बताउनु भयो । 

बुटवलमा करिब ३० हजार अव्यवस्थित बसोबासी रहेको उपमहानगरपालिकाले जनाएको छ । मायादेवी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष चोकबहादुर थापाले भूमि आयोगले तीव्र गतिमा काम गर्दा नै अव्यवस्थित भएकालाई व्यवस्थित गराउन सफल भएको बताउनु भयो । 

आयोगका विज्ञ सदस्य बन्द्र आलमले निर्वाचन आचारसंहिताले गर्दा काम गर्न ४ महिना ढिलाइ भएको बताउँदै रुपन्देहीका १० वटा पालिकामा आयोगले कामलाई तीव्रता दिएको बताउनु भयो । रुपन्देहीका ८ वटा पालिकामा नापी र श्रेष्ता पुर्जाको काम भइरहेको जानकारी उहाँले दिनुभयो ।