• ११ मंसिर २०८१, मङ्गलबार

अग्निपीडित मुक्त कमैयाको पक्की घर निर्माण सुरु

blog

अग्नीपीडित मुक्त कमैयाको सुरक्षित आवासको शिलान्यास गर्नुहुँदै मन्त्री विनिता चौधरी । तस्बिर : लखन चौधरी

अविनाश चौधरी

धनगढी, पुस १० गते । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्निपीडित मुक्त कमैयाको पक्की घर निर्माण कार्य सुरु भएको छ । मुख्यमन्त्री बस्ती विकास कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश सरकार र ह्याबिटेट फर ह्युमानिटीको संयुक्त लगानीमा २७ मुक्त कमैयाका पक्की घर निर्माण कार्य सुरु गरिएको हो । 

गएको वैशाख ११ गते मुक्त कमैया बस्तीमा आगलागी भएको थियो । आगलागीबाट २७ परिवारको घरसहित धनसम्पत्ति पूर्णरुपमा जलेर नष्ट भएको थियो । पूर्ण रूपमा घर जलेका परिवार टेन्ट र झुपडीमा बस्दैआएका थिए । 

आठ महिनापछि कमैयाका लागि घर निर्माणको काम सुरु गरिएको हो । पक्की घर निर्माण कार्यको एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले शिलान्यास गर्नुभयो । 

सो क्रममा मन्त्री चौधरीले अग्निपीडितहरू सुरक्षित आवासभित्र प्रवेश गरेको दिन कार्यक्रमले सार्थकता पाउने बताउनुभयो । ‘सरकारको बस्ती विकास कार्यक्रमले अग्निपीडित परिवारलाई राहत हुनेछ’ उहाँले भन्नुभयो । 

मुक्त कमैया बस्तीमा आगलागी भएपछि त्यहाँ पुग्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पूर्णरुपमा घर जलेका परिवारको घर मुख्यमन्त्री बस्ती विकास कार्यक्रम अन्तर्गत बनाउने घोषणा गर्नुभएको थियो । 

कार्यक्रम अन्तर्गत भान्सासहित तीन कोठाको पक्की घर र शौचालय निर्माण हुने जनाइएको  छ । घर निर्माणका लागि सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ९० लाख, ह्याबिटेट फर ह्युमानिटीको ५४ लाख र लाभग्राहीको ४१ लख ९९ हजार रुपियाँ लगानी रहने जनाइएको छ । 

मुक्त कमैयाका लागि सुरक्षित आवास २०८० जेठ मसान्तसम्म निर्माण भइसक्ने ह्याबिटेट फर ह्युमानिटीका इन्जिनियर अनुपराज जोशीले जानकारी दिनुभयो । विपतपुर मुक्त कमैया बस्तीमा ७२ घरपरिवारको बसोबास रहेको छ । आगलागी भएपछि २७ घर पूर्ण रूपमा जलेर खरानी बनेको थियो भने केही घरमा आंशिक क्षति भएको थियो ।