• १७ असार २०८१, सोमबार

सडक सौन्दर्यीकरण हुँदै, छिट्टै सञ्चालनको तयारी

blog

विराटनगर समाचारदाता 

विराटनगर, पुस १० गते । विराटनगरको हिमालय सडकलाई सौन्दर्यीकरण गर्ने काम एक महिनाभित्र सम्पन्न गर्ने विराटनगर महानगरपालिकाले जनाएको छ। निर्माण सम्पन्न भएसँगै त्यसलाई व्यावसायिक उपयोगमा ल्याउने महानगरको तयारी छ।

सिक्किमको ‘एमजी रोड’को नमुनाका रूपमा विराटनगरमा निर्माणाधीन उक्त सडकको सौन्दर्यीकरण गर्न विभिन्न संरचना निर्माण गर्न थालिएको छ। ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि निर्माण रोकिएको थियो। महानगरका मेयर नागेश कोइरालाले छिटो काम सक्न र सडकलाई उद्देश्यअनुसार सञ्चालन गर्न निर्देशन दिनुभएको थियो। रोकिएको कामले पुनः गति लिएको महानगरले जनाएको छ। निर्माणाधीन सडक सौन्दर्यीकरणका क्रममा अहिले बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउनेलगायतका कामले तीव्रता पाइरहेको छ।

जनआन्दोलन चोकबाट ट्राफिक चोक जोड्ने उक्त सडकलाई सौन्दर्यीकरण गर्दा त्यसको संरचना बिग्रिएको र उपयोगितामा नआउने सम्भावना रहेको भन्दै स्थानीयले विरोध जनाएका छन्। उक्त सडक छेउमा व्यापार व्यवसाय गर्दै आएकाले पनि अन्यत्र जानुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

ठूलो सरकारी धनराशि लगानी भइसकेकोले त्यसलाई सञ्चालन गर्नुको विकल्प आफूसँग नभएको भन्दै मेयर कोइरालाले परियोजनाबाट पछाडि नफर्किने बताउनुभयो। अघिल्लो कार्यकालमा महानगर प्रमुख भीम पराजुलीले अगाडि सार्नुभएको सौन्दर्यीकरण परियोजना एक करोड ८३ लाख रुपियाँ लागतमा निर्माणाधीन छ। 

वर्तमान मेयर कोइराला यसअघि परियोजनाको विपक्षमा उभिनुभएको थियो। मेयर कोइरालाले भन्नुभयो, “अब हामी यो रोडको डिजाइनअनुसारका सबै संरचना निर्माण गरेर चाँडै सञ्चालनमा ल्याउने तयारीमा छौँ। त्यसका लागि ठेकेदारलाई चाँडो काम गर्न निर्देशन दिइसकेका छौँ।” मेयर कोइरालाको नेतृत्वमा उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले नियमित अनुगमन गरी परियोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दबाब सिर्जना गरिरहनुभएको छ। प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक महिनाभित्र सबै काम नसके ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिनुभयो।